काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले विजयी सुरुआत गरेको छ। आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा चितवनले कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्यो।
कर्णालीले दिएको १६७ रनको लक्ष्य चितवनले १९ ओभर १ बलमा ६ विकेट गुमाउँदै पूरा गर्यो। चितवनका रवि बोपारा ५२, दीपक बोहरा ४२, र सेफ जेब ३८ रनका साथ टोलीलाई जित दिलाउन मुख्य भूमिका निभाए। कर्णालीका कप्तान सोमपाल कामीले २ विकेट लिए।
टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले २० ओभरमा ३ विकेट गुमाउँदै १६६ रन बनाएको थियो। कर्णालीका प्रियांक पंचाल सर्वाधिक ९० रन, जबकि पवन सर्राफले अविजित २७ रनको योगदान दिए। चितवनका सोहेल तानभीर, सेफ जेब र रवि बोपाराले एक–एक विकेट लिए।
आजै दोस्रो खेलमा दिउँसो ४ बजे विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्।
यस संस्करणको एनपीएलमा ८ टोली सहभागी छन् — जनकपुर, काठमाडौँ, विराटनगर किङ्ग्स, चितवन राइनोज, कर्णाली याक्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स। प्रतियोगिताको फाइनल मङ्सिर २७ गते हुने निर्धारित छ।






