काठमाडौँ । भक्तपुरबाट गएराति पक्राउ परेका व्यवसायी तथा राजनीतिक टिप्पणीकार दुर्गा प्रसाईंलाई जिल्ला अदालत काठमाडौँले चार दिन हिरासतमा राख्न अनुमति दिएको छ। अदालतले उनलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गर्न आवश्यक समय भन्दै ४ दिनको अनुमति प्रदान गरेको हो।
प्रसाईंलाई भक्तपुरको सानोठिमीस्थित निवासबाट प्रहरीले पक्राउ गरी काठमाडौँ प्रहरी परिसरमा राखिएको छ। उनलाई सार्वजनिक शान्ति तथा सुरक्षाविरुद्धका गतिविधिमा संलग्न भएको आरोपमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
यस्तै, राष्ट्रिय मानव अधिकार आयोगको अनुगमन टोलीले आज काठमाडौँ प्रहरी परिसरमा पुगेर प्रसाईं तथा सम्बन्धित प्रहरी अधिकारीसँग भेटवार्ता गरेको छ। आयोगका अनुसार प्रसाईंलाई कानुनी प्रक्रिया अनुसार पक्राउ गरी थुनुवा पुर्जी थमाइएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको आयोगलाई प्रहरीबाट प्राप्त प्रतिवेदनमा उल्लेख गरिएको छ।
यसैबीच, प्रसाईंको गिरफ्तारीको विरोधमा उनका समर्थकले आज दिउँसो जिल्ला प्रशासन कार्यालय काठमाडौँ अगाडि प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले प्रसाईंको तत्काल रिहाइको माग गरेका थिए।






