काठमाडौँ । सरकारले गएको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा घाइते भएका व्यक्तिहरूलाई थप राहत स्वरूप प्रतिव्यक्ति १५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। आज सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले २ हजार ४ सय २९ जनालाई प्रति व्यक्ति १५ हजार रुपैयाँ दिने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलका अनुसार यसअघि प्रदान गरिएको राहतबाहेक घाइतेहरूलाई थप सहयोगस्वरूप रकम उपलब्ध गराइनेछ।
यस्तै, मन्त्रिपरिषदको बैठकले नेपाल विशेष सेवा ऐन २०४२ संशोधनका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अध्यादेश सिफारिस गर्ने निर्णय पनि गरेको छ। संशोधन प्रस्ताव अनुसन्धान विभागसँग सम्बन्धित विशेष सेवाका विषयलाई परिमार्जन गर्ने उद्देश्यले ल्याइएको हो।
सञ्चारमन्त्री खरेलका अनुसार अध्यादेशमार्फत विशेष सेवा ऐनमा समयानुकूल परिमार्जन गरी अनुसन्धान प्रणालीलाई अझ प्रभावकारी बनाउने तयारी सरकारको छ।






