मधेशका सभामुखले पदमुक्त गरेका ५ सांसदको पक्षमा सर्वोच्चले दियो अल्पकालीन अन्तरिम आदेश

काठमाडौं – मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलद्वारा पदमुक्त गरिएका पाँच जना प्रदेशसभा सदस्यहरूको पक्षमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले सोमबार जारी गरेको आदेशसँगै उनीहरूलाई पुनः पदमा बहाल हुने बाटो खुलेको छ। पदमुक्त हुने सांसदहरूमा नागरिक उन्मुक्ति पार्टीकी उर्मिला देवी सिंह तथा जसपाका मनिष कुमार सुमन, संजय कुमार यादव, सिंहासन साह कलवार र शारदा शंकरप्रसाद कलवार रहेका छन्। उनीहरूले सभामुख मण्डलको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए। सुनुवाइपछि अदालतले ‘कारण देखाऊ’ आदेश जारी गर्दै अन्तरिम आदेशसम्बन्धी छलफलका लागि दुवै पक्षलाई बोलाउने निर्णय गरेको छ।

गत बिहीबार सभामुख मण्डलमाथि पदअनुकूल आचरण नगरेको आरोप लगाएर एमालेबाहेकका दलहरूले उनीविरुद्ध प्रस्ताव दर्ता गरेका थिए। सोहीको प्रतिउत्तरस्वरूप सभामुखले संविधानको धारा १८० (घ) का आधारमा “लगातार १० बैठकमा अनुपस्थित भएको” भन्दै पाँच सांसदलाई सदस्यताबाट पदमुक्त गरेका थिए। अन्तिम निर्णय नभएसम्म सर्वोच्चको आदेशले उनीहरूको पद सुरक्षित रहने छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्