काठमाडौं । बन्द रहेको इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स (इडीएल) सेवा शनिबार बिहानदेखि पुनः सञ्चालनमा आएको छ।
यातायात व्यवस्था विभागको डेटा सेन्टरमा शुक्रबार उत्पन्न समस्याका कारण सेवा दिनभर बन्द भएको थियो। कात्तिक १६ बाट आंशिक रूपमा सञ्चालनमा आएको सिस्टम पावर सप्लाई नहुँदा पुनः अवरुद्ध भएको हो।
विभागका निर्देशक केशव खतिवडाका अनुसार शुक्रबार साँझ नयाँ पावर सप्लाई जडान गरिएकाले शनिबार बिहानदेखि सेवा सुचारु भएको हो।
“अब लाइन जाँदा पनि प्रणाली बन्द हुँदैन,” खतिवडाले भने, “जेनेरेटर त थियो तर लामो समयसम्म धान्न सक्ने अवस्था थिएन। अब लाइन जानेबित्तिकै ब्याट्री र जेनेरेटरले प्रणाली चलाउँछ।”
यससँगै लाइसेन्स आवेदनका लागि प्रयोग हुने वेबसाइट applydlnew.dotm.gov.np पनि सञ्चालनमा आएको छ।
हाल देशभरका ४२ यातायात व्यवस्था कार्यालयमध्ये ३८ वटाबाट सेवा सञ्चालनमा आइसकेको छ।
तर रुकुमको चौरजहारी, सुर्खेत, पोखरा र हेटौंडा कार्यालयमा भने अझै सेवा सुरु हुन बाँकी छ।






