मधेश प्रदेश प्रमुखले बोलाएको सर्वदलीय बैठक सातदलीय गठबन्धनद्वारा बहिष्कार

जनकपुरधाम – मधेश प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले शुक्रबार दिउँसो ३ बजे बोलाएको सर्वदलीय बैठक सातदलीय गठबन्धनले बहिष्कार गरेको छ। गठबन्धनका दलहरूले असंवैधानिकरूपमा नियुक्त भई होटेलमा शपथ लिएका वर्तमान मुख्यमन्त्री सरोजकुमार यादव बैठकमा सहभागी हुने भएकाले आफूहरू बैठकमा नजाने बताएका छन्। यादव नेकपा एमाले संसदीय दलका नेताको हैसियतमा बैठकमा सहभागी हुने तयारीमा थिए।

बैठक बहिष्कारसँगै प्रदेशमा राजनीतिक तनाव थपिएको छ। यसअघि आजै उपसभामुख बबिता कुमारी राउत ईशरले मधेश भवनको प्राङ्गणमै प्रदेशसभा बैठक सञ्चालन गरेकी थिइन्। जसपा संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री सरोज यादवले खुला ठाउँमै बैठक आह्वान गरेपछि उपसभामुख राउतले वैकल्पिक रूपमा सभा चलाएकी हुन्।

त्यसैदिन सात राजनीतिक दलले सभामुख रामचन्द्र मण्डलविरुद्ध पदीय आचरण विपरीत कार्य गरेको आरोप लगाउँदै अविश्वासको प्रस्ताव दर्ता गराएका छन्। आफूविरुद्ध अविश्वासपछि सभामुख मण्डलले पाँच जना सांसदलाई पदमुक्त गरेका छन्।

राजनीतिक द्वन्द्व चुलिँदै जाँदा सातदलीय गठबन्धनले जनकपुरमा आफ्ना कार्यकर्तामार्फत प्रदर्शनसमेत गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्