मतदाता नामावलीमा नाम दर्ता गराउनेको चाप बढेपछि दर्ता अवधि पाँच दिन थप

काठमाडौं – मतदाता नामावलीमा नाम दर्ता गराउनेको चाप दिनप्रतिदिन बढेपछि निर्वाचन आयोगले दर्ता अवधि पाँच दिन थप गरेको छ। हिजो शुक्रबार जारी विज्ञप्तिमा आयोगले मतदाता दर्ता तथा अद्यावधिकमा देखिएको उत्साहजनक सहभागिता र नागरिकको सहजतालाई मध्यनजर गर्दै मंसिर ५ गतेसम्म समय थपिएको जानकारी गराएको हो। यसअघि आयोगले कात्तिक ३० गतेसम्म मात्र दर्ता गर्न सकिने समय तोकेको थियो।

प्रधानमन्त्री सुशीला कार्कीले समेत आयोगलाई समय थप गर्न सिफारिस गरेपछि प्रक्रिया अझै खुला राखिएको हो। पछिल्लो विवरणअनुसार दुई लाख ५७ हजार पाँच सयभन्दा बढी नयाँ मतदाताले नाम दर्ता गरेका छन्, जसले दर्ता केन्द्रहरूमा बढी चाप देखिएको संकेत गर्छ।

आयोगका अनुसार थपिएको अवधिमा राष्ट्रिय परिचयपत्र प्रयोग गरेर वा पहिले प्रयोगमा रहेको कागजातमार्फत नाम दर्ता आवेदन दिन सकिनेछ। आवेदन दिएपछि निर्वाचन कार्यालयमा गई जैविक विवरण—फोटो र औँठाछाप—प्रदान गरेपछि दर्ता प्रक्रिया पूरा हुन्छ।

आज शनिबारका लागि आयोगले विशेष व्यवस्थाबारे पनि जानकारी दिएको छ। राष्ट्रिय परिचयपत्र नम्बर भएका सेवाग्राहीले मात्र अनलाइनमार्फत आवेदन दिन सक्नेछन्, भने परिचयपत्र नम्बर नभएकाहरूले आज आवेदन गर्न सक्ने छैनन्। तर, पहिल्यै आवेदन दिइसकेकाहरूले आजै सम्बन्धित निर्वाचन कार्यालयमा गई जैविक विवरण बुझाउन सक्नेछन्।

यसबाहेक, आज नै सबै प्रदेश र जिल्ला निर्वाचन कार्यालयमा जैविक विवरण सङ्कलन सेवा पूर्ववत रूपमा सञ्चालन गर्न निर्देशन दिइएको आयोगले जनाएको छ। राष्ट्रिय परिचयपत्रबाट पनि मतदाता नामावली दर्ता गर्न मिल्ने व्यवस्था लागू भएपछि अनलाइनमार्फत दर्ता गराउनेको चाप अझै बढेको आयोगको भनाइ छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्