रामेछाप – भाइरल ज्वरोको सङ्क्रमण तीव्र रुपमा फैलिन थालेपछि रामेछापको उमाकुण्ड गाउँपालिकाभित्रका ४२ वटा सामुदायिक विद्यालय तीन दिनका लागि बन्द गरिएको छ। धेरैजसो विद्यार्थी बिरामी परेपछि गाउँपालिकाले आजदेखि मंसिर १ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
उमाकुण्ड गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक सुभजीत सुनुवारका अनुसार विद्यार्थीहरूमा उच्च ज्वरो आउने, घाँटी दुख्ने, जिउ दुख्ने, रुघाखोकी लाग्ने लगायतका लक्षण देखिएको छ। ज्वरोका बिरामीको संख्या बढेपछि स्थानीय स्वास्थ्य संस्थामा समेत चाप बढेको छ।
गाउँभरि फैलिरहेका लक्षण र सङ्क्रमण रोकथामका लागि विद्यालय बन्द गरिएको जनस्वास्थ्य शाखाले जनाएको छ। तीन दिनको अवधि विद्यालयहरूमा आवश्यक सरसफाइ, जनचेतना कार्यक्रम तथा रोकथामका उपायहरू अपनाउने गरी तयारी थालिएको छ।






