मतदाता नामावली दर्ताको म्याद थप्न निर्वाचन आयोगलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मतदाता नामावली दर्ताको समय थप्न निर्वाचन आयोगलाई आग्रह गरेकी छन्। कार्कीको सचिवालयका अनुसार उनले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई फोन गरी दर्ता अवधि थप्न औपचारिक अनुरोध गरेकी थिइन्। आयोगले फागुन २१ मा निर्वाचन हुने घोषणा गरिसकेको छ र कात्तिक ३० सम्म दर्ता गर्ने समय तोकिएको थियो।

प्रधानमन्त्रीको आग्रहपछि आयोगका कार्यवाहक प्रमुख आयुक्त भण्डारीले ५ दिनसम्म अवधि थप गर्न सकिने प्रारम्भिक संकेत दिएको प्रधानमन्त्री सचिवालयले जनाएको छ। म्याद थपको पहल नागरिकको उत्साह र अचानक बढेको दर्ता चापलाई ध्यानमा राखेरै गरिएको हो। बिहीबारदेखि राष्ट्रिय परिचयपत्रको विवरण प्रयोग गरी प्रत्यक्ष अनलाइन दर्ता प्रक्रिया सुरु भएपछि २४ घण्टा भित्रै करिब ३८ हजार नयाँ मतदाताले नाम दर्ता गरेका छन्।

यस क्रममा प्रधानमन्त्री कार्कीले अनलाइन दर्ता प्रणालीमा आएको इन्टरनेट सर्भर समस्याबारे पनि चासो व्यक्त गरेकी थिइन्। आयुक्त भण्डारीले भने प्राविधिक चुनौती समाधानका प्रयास भइरहेको जानकारी गराएको सचिवालयले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्