काठमाडौँ – एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई संविधान विपरीत मुख्यमन्त्रीमा नियुक्त गरिएको आरोप लगाउँदै सात दलका नेता–कार्यकर्ता शुक्रबार पनि धर्नामा बसेका छन्।
मधेश प्रदेश सरकारको मुख्यालय मधेश भवन अगाडिको सडकमा निरन्तर धर्ना जारी राख्दै आएका उनीहरूले तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(३) बमोजिम यादवलाई मुख्यमन्त्री नियुक्त गरी बर्दिबासको एक होटलमा शपथ गराएको कदम असंवैधानिक भएको दाबी गर्दै आएका छन्।
सात दलले यही विषयमा लगातार सडकमा उत्रेर विरोध जनाइरहेका छन्। यता, सभामुख रामचन्द्र मण्डलविरुद्ध पदअनुकूल आचरण नगरेको भनी प्रस्ताव दर्ता भएपछि उनले लगातार १० बैठकमा अनुपस्थित रहेको आरोपसहित पाँचजना सांसदलाई पदमुक्त गर्ने निर्णय गरेपछि नयाँ विवाद झनै चर्किएको छ।
पदमुक्त गरिएका ती पाँचैजनाले निर्णयप्रति कडा आपत्ति जनाउँदै शुक्रबार जनकपुरस्थित प्रदेशसभा सचिवालय पुगेर आफ्ना उपस्थितिको हाजिरी रेकर्ड उपलब्ध गराउन माग गरेका छन्।
तस्बिरः सक्रिय न्यूज






