मधेश प्रदेशमा पाँच जना सांसदलाई सभामुखले गरेको पदमुक्त उपसभामुखद्वारा बदर

काठमाडौँ – मधेस प्रदेशमा सभामुख रामचन्द्र मण्डल र दलहरूबीचको विवाद चरममा पुगेको छ। सभामुख मण्डलले बिहीबार लगातार १० बैठकसम्म अनुपस्थित भएको आरोप लगाउँदै पाँच जना सांसदलाई पदमुक्त गर्ने निर्णय गरेका हुन्।

कारबाहीमा परेकामध्ये उर्मिला देवी सिंह नागरिक उन्मुक्ति पार्टीकी सांसद हुन् भने मनिषकुमार सुमन, सञ्जयकुमार यादव, सिंहासन सा कलवार र सारदा शंकरप्रसाद कलवार जसपाका सांसद हुन्। एमालेबाट निर्वाचित सभामुख मण्डलविरुद्ध सात दलका ७४ जना सांसदले पदअनुकूल आचरण नगरेको आरोपसहित प्रस्ताव दर्ता गरेपछि, प्रतिशोधस्वरूप उनले कारबाहीको कदम चालेको भन्दै उपसभामुख बबिताकुमारी राउव ईशरले उक्त निर्णय बदर गरेकी छन्।

उपसभामुखले प्रस्ताव दर्ता भई छलफलको मिति तय हुन बाँकी रहेको अवस्थामा सभामुखले आवेगमा लिएर कारबाही गरेको बताउँदै सूचना खारेज गरिएको स्पष्ट गरेकी छन्। उनका अनुसार, कारबाहीमा परेका सांसदहरू पछिल्लो विश्वासको मत लिने बैठकमा उपस्थित भएकाले पद रिक्तताको सूचना अमान्य ठहर गरिएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्