अपीहिमाल गाउँपालिकामा ‘हाई अल्टिच्युड एडभेन्चर पर्यटन क्रिकेट रंगशाला’ निर्माणको तयारी

अपीहिमाल गाउँपालिकाले दार्चुलाको सम्तेली चौडमा ‘हाई अल्टिच्युड एडभेन्चर पर्यटन क्रिकेट रंगशाला’ निर्माणका लागि ७ करोड रुपैयाँ लागतको ठेक्का आव्हान गरेको छ। गाउँपालिकाको आफ्नै लगानीमा बन्ने यो परियोजना अपी क्षेत्रको पर्यटन प्रवर्द्धन, आर्थिक विकास र खेलकुद पूर्वाधार विस्तारमा ऐतिहासिक कदमका रूपमा हेरिएको छ।

समुद्र सतहदेखि उच्च उचाइमा बन्ने यो क्रिकेट मैदान नेपालकै साहसिक र सम्भावनायुक्त रंगशालामध्ये एक हुने अपेक्षा गरिएको छ। यसले देशभित्र मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा पनि नेपाली क्रिकेटको प्रतिष्ठा र सम्भावनालाई नयाँ दिशा दिने विश्वास लिइएको छ।

अपीहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहराले यो परियोजना गाउँपालिकाको गौरवको परियोजना भएको बताउँदै यसको सफलताले स्थानीय अर्थतन्त्रमा नयाँ ऊर्जा भर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार रंगशाला निर्माणले गाउँपालिकाको आर्थिक उत्थान, स्थानीय रोजगार सिर्जना, पर्यटन विकास र युवा खेलाडीहरूको क्षमता अभिवृद्धिमा प्रत्यक्ष योगदान पुर्‍याउनेछ।

“यो रंगशाला हाम्रो गौरवको परियोजना हो, अपी क्षेत्रलाई खेल पर्यटनको विश्वनक्शामा चिनाउने हाम्रो साझा सपना हो,” अध्यक्ष बोहराले भन्नुभयो।

नेपालमा पछिल्ला वर्षहरूमा क्रिकेट खेलको लोकप्रियता तीव्र गतिमा बढिरहेको बेला हिमाली जिल्ला दार्चुलामा उच्च उचाइमा खेल मैदान निर्माण हुनु दुर्लभ उदाहरण मानिएको छ। यसले अपीहिमाललाई ‘हाई अल्टिच्युड स्पोर्ट्स डेस्टिनेसन’ का रूपमा परिचित गराउने अपेक्षा गरिएको छ।

अपीहिमाल क्षेत्रको भौगोलिक र सांस्कृतिक विविधता तथा साहसिक प्राकृतिक सौन्दर्य क्रिकेट पर्यटनसँग जोडिँदा देशको खेल पर्यटन उद्योगमा नयाँ ढोका खुल्नेछ। गाउँपालिकाले भविष्यमा यस मैदानमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने सम्भावना पनि राखेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्