काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले अब अनलाइनबाट मतदाता नामावली संकलन गर्नेहरुको बायोमेट्रिक विवरण नेशनल आइडी कार्डमार्फत लिइने बताएका छन्।
जेन–जी (Gen-Z) प्रतिनिधिहरूसँग भएको छलफलका क्रममा उनले मतदाता नामावली संकलन प्रक्रिया सहज र प्रविधिमैत्री बनाउन आयोगले यस्तो निर्णय गरेको जानकारी दिए।
उनका अनुसार अहिले धेरै नागरिकले राष्ट्रिय परिचयपत्र (नेशनल आइडी) प्राप्त गरिसकेकाले आयोगले सोही विवरणको प्रयोगमार्फत बायोमेट्रिक जडान गर्ने तयारी गरेको हो।
भण्डारीले भने, “अहिले हाम्रो नेशनल आइडीको भण्डारमा जम्मा भएको बायोमेट्रिक तपाईंहरूले अनलाइनमा भर्नुभएको निवेदनमा ल्याएर जोड्ने र छानबिन गरेर नामावली प्रकाशन गर्ने निर्णय गरेका छौँ। यसले तपाईंहरूको मागलाई सम्बोधन गर्दछ।”
उनले अध्ययन वा रोजगारीका लागि विदेशमा रहेका नेपाली नागरिकका लागि पनि अनलाइनमार्फत मतदाता नामावलीमा दर्ता हुन सक्ने व्यवस्था गरिएको बताए। “विदेशमा रहेका नेपालीहरूले अनलाइन फारम भरेपछि, आयोगले उनीहरूको नेशनल आइडीमा भएको बायोमेट्रिक विवरणसँग मिलान गर्नेछ,” उनले स्पष्ट पारे।
आयुक्त भण्डारीका अनुसार सुरुमा मतदाता नामावलीमा नाम दर्ता गर्नेमा चासो नदेखिए पनि पछिल्लो समयमा भने अनलाइन दर्ताका लागि उल्लेख्य चाप बढेको छ।






