अमेरिकाको इतिहासकै लामो ‘शटडाउन’ अन्त्यको बाटो खुल्यो, संसदबाट विधेयक बहुमतले पारित

काठमाडौं – अमेरिकी इतिहासको सबैभन्दा लामो सरकारी कामकाज बन्द (शटडाउन) अन्त्य हुने संकेत देखिएको छ। प्रतिनिधि सभाले सहमतिको विधेयक बहुमतले पारित गरेपछि सरकारी निकायहरू पुनः सञ्चालनमा आउने बाटो खुलेको हो। रोयटर्सका अनुसार प्रतिनिधि सभामा भएको मतदानमा शटडाउन अन्त्य गर्ने पक्षमा २२२ र विपक्षमा २०९ मत परेको थियो। दुई सांसद अनुपस्थित रहेका थिए। ह्वाइट हाउसका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले विधेयकमा हस्ताक्षर गरेपछि यो औपचारिक रूपमा कार्यान्वयनमा जानेछ।

यो शटडाउन अमेरिकी इतिहासकै सबैभन्दा लामो भएको बताइएको छ। लामो समयदेखि ठप्प भएको सरकारी कार्यप्रणाली सामान्य अवस्थामा फर्किन भने केही दिन लाग्ने अनुमान गरिएको छ, किनभने करिब १२.५ लाख संघीय कर्मचारीले गत अक्टोबर १ यता तलब पाएका छैनन्। यसबीच हजारौं उडान रद्द भएका छन् र त्यस्तो प्रभाव अझै केही दिन रहन सक्ने बताइन्छ। शटडाउनका कारण संघीय सेवासँग सम्बन्धित धेरै कार्यक्रमहरू, विशेषगरी खाद्य सहायता र ठेक्कापट्टा प्रक्रिया प्रभावित भएका छन्, जसले पहिले नै कमजोर अर्थतन्त्रमा थप दबाब सिर्जना गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यद्यपि संसदबाट पारित भएको कानुनले संघीय सरकारका नियमित कामहरू पुनः सुरु गर्ने व्यवस्था गरेको छ, विपक्षी डेमोक्र्याट सांसदहरूले भने स्वास्थ्य बीमा (ओबामाकेयर) अन्तर्गतका कर छुट विस्तारको विषय समाधान नभएको भन्दै असन्तुष्टि जनाएका छन्। द गार्जिएन का अनुसार, “यो सम्झौताले जनवरीसम्मका लागि सरकारका नियमित कामहरू सामान्य बनाउने बाटो खोलेको छ, तर अफोर्डेबल केयर एक्ट अन्तर्गतका स्वास्थ्य बीमा योजनाका कर छुट विस्तारको विषय अझै अड्किएको छ।” यससँगै अमेरिकी राजनीतिमा लामो समयदेखि चलिरहेको शटडाउन विवाद केही हदसम्म टुंगिने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्