निर्वाचनअघि कुनै महाधिवेशन गर्न हुदैँन: विमलेन्द्र निधि

File Photo

काठमाडौं – नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले आगामी निर्वाचन अघि कुनै पनि प्रकारको महाधिवेशन गर्न नहुने बताएका छन्। उनले पार्टी महाधिवेशनले निर्वाचनमा प्रत्यक्ष असर पार्ने भएकाले विशेष वा नियमित दुवै प्रकारको महाधिवेशनको तयारी नगर्न सुझाव दिएका छन्। ‘चुनावभन्दा बाहिर पार्टी जान सक्दैन,’ निधिले भने, ‘संसद् पुनःस्थापनाको पक्षमा पनि म छैन। अहिलेको परिस्थितिमा प्राथमिकता चुनाव हो— एक चुनाव, दुई चुनाव, तीन चुनाव। चुनाव सकिएपछि मात्रै महाधिवेशन गरौं।’

निधिले विशेष महाधिवेशनको माग पनि असमयिक रहेको बताउँदै भने, ‘नियमित मात्रै होइन, विशेष महाधिवेशन पनि गर्न सकिँदैन। चुनावभन्दा बाहिर गएर महाधिवेशनमा लाग्नु हुँदैन।’ उनीसँगै कांग्रेसका अर्का पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पनि निधिको समर्थन गर्दै महाधिवेशनले निर्वाचन तयारीमा बाधा पुर्‍याउने बताएका छन्। ‘आजको मितिसम्म म कुनैपनि प्रकारको महाधिवेशनको पक्षमा छैन,’ सिटौलाले भने, ‘महामन्त्रीहरुसँग डराएर होइन, निर्वाचनलाई क्षति पुग्ने ठानेरै यस्तो भनिरहेका हौँ।’

सिटौलाले पार्टीभित्र नेतृत्व परिवर्तन वा कब्जाको डर नरहेको पनि स्पष्ट पारे। ‘हाम्रो पार्टी कसैले कब्जा गरेर कब्जा हुँदैन, कम्युनिस्ट पार्टीको जस्तो होइन,’ उनले भने, ‘महामन्त्रीहरू नेतृत्वमा आए पनि हामीलाई कुनै अप्ठ्यारो हुँदैन। अहिले पनि हामी केन्द्रीय सदस्य भएर जिम्मेवारीमा छौँ।’ कांग्रेसभित्र पछिल्ला दिनमा विशेष महाधिवेशनको माग तीव्र बन्दै गएको छ भने पूर्व पदाधिकारीहरू निधि र सिटौला जस्ता वरिष्ठ नेताहरूले त्यसलाई असमयिक भन्दै विरोध जनाइरहेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्