भीम रावल सात बुँदे सहमतिको आधारमा नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

काठमाडौं । मातृभूमि जागरण अभियान सञ्चालन गर्दै आएका डा. भीम रावल नेपाली कम्युनिस्ट पार्टी (नेकप)मा समाहित भएका छन् । बुधबार जारी एक संयुक्त विज्ञप्ति अनुसार, सात बुँदे सहमतिसहित रावल नेतृत्वको मातृभूमि जागरण अभियान, नेपाल र नेपाली कम्युनिस्ट पार्टीबीच संगठनात्मक एकीकरण भएको हो ।

सहमति पत्रमा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल र डा. रावलले हस्ताक्षर गरेका छन् । एकीकरणपछि रावलको पार्टीभित्रको वरीयता छैटौं कायम हुने सहमति यसअघि नै भइसकेको बताइएको छ ।

सहमति पत्रमा भनिएको छ, “देश अत्यन्त विषम परिस्थिति र जटिल समस्याको सामना गरिरहेको अवस्थामा राष्ट्रिय स्वाधीनता, अखण्डता र स्वाभिमानको रक्षा गर्दै देशलाई सबल र जनतालाई समृद्ध तुल्याउनु पर्ने चुनौती रहेको छ।”

दुवै पक्षले देश र जनताको हितलाई सर्वोच्च प्राथमिकतामा राख्दै सुशासन, सामाजिक न्याय र आर्थिक-सामाजिक रुपान्तरणका लागि एकीकृत रूपमा अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।

 सहमतिका सात बुँदा

१. नेपाल र नेपाली जनताको हित, राष्ट्रिय सार्वभौमिकता, एकता, स्वाधीनता, अखण्डता, स्वाभिमान तथा आत्मनिर्णयको अधिकारलाई अक्षुण्ण राख्दै बाह्य हस्तक्षेप र दबाबमुक्त राजनीति, राष्ट्रिय अर्थतन्त्र र संस्कृतिको संरक्षणमा जोड दिने।

२. समाजवाद र सामाजिक न्यायमा आधारित आर्थिक-सामाजिक रुपान्तरण र समृद्धिका लागि कटिबद्ध रहने।

३. आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने; मिति र स्थान सचिवालयले निर्धारण गर्ने। मातृभूमि जागरण अभियान अन्तर्गतका कार्यकर्तालाई नेपाली कम्युनिस्ट पार्टीका संरचनामा पारस्परिक सहमतिबाट समायोजन गर्ने।

४. डा. भीम रावलको जिम्मेवारी तथा अन्य विषयमा आपसी सहमतिबाट टुंगो लगाउने।

५. पार्टी विधान, राजनीतिक प्रतिवेदन र कार्यक्रमहरू संयुक्त रूपमा तयार गर्ने।

६. पार्टी सञ्चालन लोकतान्त्रिक विधि र जनवादी केन्द्रीयताको सिद्धान्तमा आधारित हुने; सामूहिक नेतृत्वलाई प्राथमिकता दिने।

७. पार्टी एकीकरणको प्रक्रिया सहज बनाउन विभिन्न तहमा कार्यदल गठन गर्ने।

स्रोतका अनुसार अब निकट भविष्यमै पार्टी सचिवालय बैठक बस्ने र एकीकरणपछिको कार्यविभाजन, संगठन विस्तार र नीति निर्माणको विषयमा छलफल हुने बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्