काठमाडौँ – ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङ नेतृत्वको ‘उज्यालो नेपाल पार्टी’ ले आफ्ना पदाधिकारी अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ। पार्टीले आयोगमा ५१ सदस्यीय केन्द्रीय समितिको नामावली पेस गरेको हो। नवीन रूपमा अद्यावधिक गरिएको समितिमा डाक्टर र इञ्जिनियरहरूको उल्लेख्य उपस्थिति रहेको छ। पार्टीको अध्यक्षमा इञ्जिनियर तथा पूर्व ऊर्जा सचिव अनुपकुमार उपाध्याय छन्।
त्यस्तै, सदस्यका रूपमा इञ्जिनियर शंकर ढकाल, तेजनारायण यादव, निलिमा बस्नेत, दिपेन्द्र जमरकट्टेल, अरविन्द साह र राजेन्द्र शाहीको नाम समावेश छ। स्वास्थ्य, शिक्षा र अनुसन्धान क्षेत्रबाट समेत प्रतिनिधित्व गरिएको समितिमा डा. ताराप्रसाद जोशी, डा. महेन्द्रसुन्दर लावती, डा. सागर ढकाल, डा. अभिषेकराज सिंह, डा. राजु थापा, डा. विशाल भण्डारी र डा. आशुतोष विजय पन्त सदस्य रहेका छन्।
सांस्कृतिक क्षेत्रमा सक्रिय कलाकार तथा कार्यक्रम सञ्चालक रिमा विश्वकर्मा पनि पार्टी सदस्यका रूपमा सूचीकृत भएकी छन्। मन्त्री कुलमान घिसिङले यसअघि साउन महिनामै जितराम लामाको नेतृत्वमा दल दर्ता गर्न आयोगमा निवेदन दिएका थिए। आयोगले दर्ता प्रक्रिया पूरा गरेसँगै पार्टीलाई ‘उज्यालो नेपाल पार्टी’ नाममा मान्यता दिएको हो। यो दलको चुनाव चिह्न ‘चिम’ रहनेछ। पार्टीले आगामी निर्वाचनका लागि देशभर संगठन विस्तार र नीति निर्माणको तयारी थालेको बताइएको छ।








