बाल गायिका बिनिशा भाटको स्वरमा ‘नेपाली गौरव गर्छौं आफ्नै पनमा’ सार्वजनिक

काठमाडौँ – उदियमान बाल गायिका बिनिशा भाटको स्वरमा रहेको देशप्रेमपूर्ण कभर गीत ‘नेपाली गौरव गर्छौं आफ्नै पनमा’ को भिडियो सार्वजनिक भएको छ। स्वाभिमान, मौलिकता र राष्ट्रिय गौरवको भावना समेटिएको यस गीतका रचनाकार तथा सङ्गीतकार प्रतिष्ठित संगीतकर्मी शरण प्रधान हुन्। मूल गीत अमर गायिका अरुणा लामाको स्वरमा प्रसिद्ध भएको हो।

गीतमा नेपालीको आफ्नै पहिचान, संस्कृति, संस्कार, वीरता र आत्मगौरवको भावलाई सशक्त रूपमा प्रस्तुत गरिएको छ। भिडियो गायिका बिनिशाकै आधिकारिक युट्युब च्यानल ‘Binisha Bhat’ मार्फत सार्वजनिक गरिएको हो। गीतको रेकर्डिङ् र मिक्सिङ् संगीतकर्मी पर्वत श्रेष्ठको विशेष सक्रियतामा सम्पन्न भएको हो। भिडिओको सम्पादन लोकेश भाटले गर्नुभएको छ भने वर्ल्डकभर मिडियाले पोस्ट–प्रोडक्सन गरेको हो। भिडिओकी गायिका बिनिशा, प्रसिद्ध सिनेमाटोग्राफर तथा सम्पादक **वीरेन्द्र भाट ‘विपिन’**की छोरी हुन्। हाल उनी पुतलीसडकस्थित पद्मोदय सेकेन्डरी हाईस्कूलमा कक्षा ८ मा अध्ययनरत छिन्।

सङ्गीतप्रति गहिरो रुचि भएकी बिनिशाले कुनै औपचारिक तालिम नलिए पनि स्वअभ्यासका आधारमा गीत रेकर्ड गर्दै आएकी छन्। करिब पाँच महिना अघि उनले देवी पराजुलीको शब्द र पर्वत श्रेष्ठको संगीतमा तयार ‘गङ्गा रानी’ गीत रेकर्ड गरेकी थिइन्, जुन भिडिओ निर्माणपछि सार्वजनिक गरिने बताइएको छ। समीक्षकहरूले बिनिशाको आवाज र अभिव्यक्तिलाई सम्भावनायुक्त ठहर गर्दै भविष्यमा नेपाली सङ्गीत क्षेत्रमा उनको उदय उज्यालो हुने विश्वास व्यक्त गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्