नाम, जन्ममिति र विवाह दर्ता विवरण एकपटकका लागि सच्याउने बाटो खुल्यो

काठमाडौँ — अब नागरिकले आफ्ना व्यक्तिगत विवरणमा भएका त्रुटि एकपटकका लागि सच्याउन पाउने भएका छन्। हिजो बसेको मन्त्रिपरिषद् बैठकले ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण दोस्रो संशोधन नियमावली–२०८२’ स्वीकृत गरेसँगै नाम, जन्ममिति, विवाह दर्ता, बसाईँसराई लगायत व्यक्तिगत घटनाका विवरणमा सुधार गर्ने कानुनी बाटो खुलेको हो।

यसअघि सरकारले व्यक्तिगत घटनाका विवरण सच्याउन मिल्ने व्यवस्था ऐनमार्फत् गरेको थियो, तर त्यसमा प्रष्टता नहुँदा व्यवहारमा कठिनाइ भइरहेको थियो। अब संशोधित नियमावलीले स्पष्टता प्रदान गर्दै सुधार प्रक्रियालाई सहज बनाएको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक सानुबाबु अधिकारीका अनुसार अब नागरिकले आफ्नो नाम, ठेगाना, विवाह दर्ता, सम्बन्ध विच्छेद, मृत्युजस्ता व्यक्तिगत विवरणमा त्रुटि भएमा एकपटकका लागि संशोधन गर्न पाउनेछन्।

पहिले लागू नियमअनुसार विवरण सच्याउन एक वर्षभित्र आवेदन दिनुपर्ने बाध्यता थियो। तर, नयाँ नियमावलीले त्यो समयसीमा सम्बन्धी बन्देज हटाएको अधिकारीले बताए। नियमावली मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेको र राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयन सुरु हुने विभागले जनाएको छ। व्यक्तिगत विवरण दर्ता वा सच्याउने कार्य स्थानीय तहका वडा कार्यालयमार्फत वडासचिवले गर्ने व्यवस्था गरिएको छ। यो व्यवस्थाले नागरिकका अभिलेखमा भएका त्रुटि सच्याउन लामो समयदेखिको समस्या समाधान हुने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्