काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा नजाने निर्णय गरेका नेता घनश्याम भूसालले आफ्ना निकट नेताहरूको अगुवाइमा नयाँ राजनीतिक दल दर्ता गराएका छन् । आइतबार निर्वाचन आयोगमा संयोजक राजकुमार कक्षपति रहने गरी दल दर्ताको निवेदन दर्ता गरिएको हो । पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी (वामपन्थी केन्द्र)’ प्रस्ताव गरिएको छ भने सहसंयोजकमा नन्दलाल बन्जाडे रहेका छन् । चुनाव चिह्नका रूपमा ‘सूर्यमुखी फूल’ प्रस्ताव गरिएको आयोग स्रोतले जनाएको छ । हाल आयोगमा सो निवेदनउपर कागजात रुजु गर्ने प्रक्रिया भइरहेको छ ।
भूसाल पक्षले दर्ताका लागि २३ जना केन्द्रीय सदस्यहरूको नामसमेत आयोगमा बुझाएको छ । ती सदस्यहरूमा सुस्मा राई (भोजपुर), योगेन्द्र बस्नेत (ओखलढुंगा), निलम ढुंगेल (मोरङ), मुकुन्द बहादुर रोका (प्युठान), नरेश प्रसाद न्यौपाने (अछाम), प्रकाश श्रेष्ठ (धादिङ), लोककृष्ण दाहाल (भक्तपुर), समीर गौतम (गुल्मी), नविन कुमार कक्षपति (प्युठान), एन्जिस राज प्रसाईं (काठमाडौं), मिरा श्रेष्ठ (रुपन्देही), लक्ष्मी गिरी (प्युठान), नारद उपाध्याय (कालिकोट), अर्जुन कुमार अधिकारी (दाङ), विमल नेपाली (दाङ), प्रचण्डमान श्रेष्ठ (तनहुँ), सुकुन्दरी श्रेष्ठ (प्युठान), प्रेम बहादुर तारामी (सुर्खेत), ठगेन्द्र बहादुर रसाइली (झापा), जानुका श्रेष्ठ (महोत्तरी), रेशा दुलाल (ललितपुर), सविता तामाङ (काठमाडौं) र लक्ष्मी देवी शर्मा (रुपन्देही) रहेका छन् ।
भूसाल निकट नेताहरूले भने यो दललाई सिद्धान्तका आधारमा वामपन्थी वैचारिक एकताको केन्द्रका रूपमा विकास गर्ने उद्देश्य रहेको बताएका छन् । निर्वाचन आयोगले आवश्यक कागजातको प्रमाणीकरणपछि दल दर्ता प्रक्रिया टुंगोमा पुग्नेछ ।






