काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र प्लास्टिक, प्लास्टिकजन्य वस्तु तथा फोहर बाल्न कडाइका साथ निषेध गरेको छ । महानगरको वातावरण व्यवस्थापन विभागले हाल जारी गरिएको सूचनामार्फत खुला ठाउँमा प्लास्टिक र फोहर बाल्ने व्यक्तिलाई १० हजार रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी दिएको हो ।
चिसो मौसम सुरु भएसँगै खुला स्थानमा प्लास्टिक, कागज र अन्य फोहर बाल्ने क्रम बढेपछि महानगरले यस्तो कदम उठाएको हो । विभागकी प्रमुख सरिता राईका अनुसार वायु प्रदूषण नियन्त्रण र जनस्वास्थ्य सुरक्षाका लागि यो निर्णय गरिएको हो । राईका भनाइमा, “जाडो मौसममा वायु प्रदूषणको मात्रा अत्यधिक बढ्ने गर्छ । खुला रूपमा फोहर र प्लास्टिक बाल्दा प्रदूषण अझ बढ्छ, जसले बालबालिका, जेष्ठ नागरिक र दम–खोकीजस्ता श्वासप्रश्वासका रोगीहरूलाई गम्भीर असर पुर्याउँछ ।”
महानगरले वायु प्रदूषण घटाउन सार्वजनिक सचेतना अभियान सञ्चालन गर्ने र फोहर व्यवस्थापनमा वैकल्पिक उपाय अवलम्बन गर्न सर्वसाधारणलाई आग्रह पनि गरेको छ ।







