काठमाडौँ – सार्वजनिक सेवा प्रसारण (पीएसबी) नेपालले आफ्नो प्रथम वार्षिकोत्सवको अवसरमा औपचारिक रूपमा नयाँ अध्यायको सुरुवात गरेको छ । सिंहदरबारमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलबाट सार्वजनिक सेवा प्रसारण नेपालको औपचारिक शुभारम्भसँगै ‘एनटिभी वर्ल्ड’ च्यानलको प्रसारण पनि प्रारम्भ भएको हो । संघीय संसदले पारित गरेको सार्वजनिक सेवा प्रसारण ऐन २०८१ राष्ट्रपतिबाट प्रमाणीकरण भएको ३१औँ दिनदेखि लागू भएसँगै रेडियो नेपाल र नेपाल टेलिभिजन कानुनी रूपमा पीएसबीमा रूपान्तरण भएका थिए । तर व्यावहारिक रूपमा यसको कार्यान्वयन नयाँ सञ्चालक समितिको नियुक्तिपछि गत पुस महिनादेखि सुरु भएको कार्यकारी प्रमुखले जानकारी दिनुभयो ।
उहाँका अनुसार, रूपान्तरणका क्रममा कर्मचारी सेवा–शर्त, आर्थिक प्रशासन, स्वेच्छिक अवकाश योजना, दरबन्दी पुनर्संरचना, र संक्रमणकालीन कानुनी व्यवस्था तयारीको काम पूरा गरी मन्त्रालयमा पेश गर्न तयारी भइरहेको छ । “रेडियो नेपाल र नेपाल टेलिभिजन फरक वातावरण र संस्कृतिमा हुर्केका संस्थाहरू हुन् । तैपनि हामीले सहअस्तित्व र साझा मनोविज्ञानको आधारमा यी दुईलाई एउटै लयमा अघि बढाएका छौं,” उहाँले भन्नुभयो ।
कार्यकारी प्रमुखका अनुसार सार्वजनिक सेवा प्रसारणको रूपान्तरण दुई संस्थाको एकीकरण मात्र नभई इसका पहुँच, प्रभाव, प्रस्तुति र पहिचानमा आमूल परिवर्तन ल्याउने प्रयास हो । उहाँले पीएसबीको कार्यनीतिक अवधारणाका रूपमा “People First” अर्थात् नागरिक पहिलो भन्ने दर्शनलाई अगाडि बढाइरहेको उल्लेख गर्नुभयो । उहाँले भने, “हाम्रा तीन माध्यम रेडियो, टेलिभिजन र डिजिटल प्लेटफर्म र तीन प्राथमिकता राष्ट्रिय एकता, समृद्धि र विपद्को समयमा नागरिकको जीवन रक्षा हाम्रो मूल दिशानिर्देशन हुन्।”
संस्थाले हालसम्म प्रसारण पहुँच विस्तार, प्रविधि सुधार, समाचारको पुनःप्राथमिकता, र समुदाय केन्द्रित विषयवस्तुको समावेशमा जोड दिएको छ । पहिल्यै उपेक्षित भाषा, संस्कृति र समुदायहरू आज राष्ट्रिय प्रसारणको मूलधारमा समावेश हुन थालेको उहाँले बताउनुभयो । कार्यकारी प्रमुखले सार्वजनिक सेवा प्रसारणको दीगो विकासका लागि स्वायत्तता, स्वतन्त्रता र दिगो आर्थिक स्रोत सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले भने, “दुनियाँमा सार्वजनिक सेवा प्रसारणको सफलता वा विफलता यसकै स्वायत्तता र स्रोत व्यवस्थापनमा निर्भर हुन्छ । नेपालमा जारी ऐनमा यो पक्ष अझ स्पष्ट र बलियो बनाइनुपर्ने आवश्यकता छ ।”
नयाँ शुभारम्भ भएको एनटिभी वर्ल्ड च्यानललाई उहाँले ‘नेपालको दृष्टिकोण विश्वमा’ (Nepal’s Perspective to the World) भन्ने अवधारणामा आधारित नयाँ सम्भावनाको ढोका भनेका छन् । यो च्यानल एनटिभी प्लसको फ्रिक्वेन्सीमार्फत साँझ ७ बजेदेखि चार घण्टा फ्रेस कन्टेन्टसहित नियमित प्रसारणमा रहने र डिजिटल माध्यमबाट २४ घण्टा विश्वभर पुग्ने बताइएको छ । उहाँले अन्त्यमा सबैलाई “हामीलाई हेरिदिनुहोस्, सुनिदिनुहोस्, फलो र सब्सक्राइब गरिदिनुहोस्, सुझाव र प्रतिक्रिया दिनुहोस्” भन्दै जनसम्पर्क र नागरिक सहभागिताको आह्वान गर्नुभयो ।






