काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सार्वजनिक सेवा प्रसारण (पीएसबी) नेपाललाई गुणस्तरीय, विश्वसनीय र प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभएको छ । सिंहदरबारमा आज आयोजित पीएसबी नेपालको प्रथम वार्षिकोत्सव तथा ‘एनटिभी वर्ल्ड’ को औपचारिक शुभारम्भ समारोहमा बोल्दै मन्त्री खरेलले सार्वजनिक प्रसारणको नारा ‘जस्टिफाई’ हुन आवश्यक रहेको बताउनुभयो । उहाँका अनुसार पीएसबीले जनतासँग प्रत्यक्ष सरोकार राख्ने, नवीनता र सिर्जनशीलतायुक्त बलियो कन्टेन्ट उत्पादन गर्नुपर्नेछ ।
मन्त्री खरेलले भन्नुभयो, “पिएसबीले दिने विषयवस्तु बलियो हुनुपर्छ, त्यसमा नवीनता र सिर्जनशीलता झल्कनुपर्छ । प्रस्तुतीमा निखारपन आउनुपर्छ र यसको पहुँच सहज र सरल रूपमा जनतासम्म पुग्नुपर्छ ।” उहाँले चुनौतीबीच सुरु भएको पीएसबीको यात्रालाई सुखद् भन्दै यसको दिगोपना र विषयवस्तु विविधतामा जोड दिनुभयो । विदेशमा रहेका नेपाली र विदेशी दर्शकसमक्ष नेपालको गौरव, पहिचान र संस्कृतिको झल्को दिने सामग्री उत्पादन गर्नुपर्ने उहाँको भनाइ थियो ।
मन्त्री खरेलले विश्वभर आमसञ्चार चुनौतीपूर्ण अवस्थामा रहेको बताउँदै पीएसबीलाई मोबाइल र डिजिटल प्लेटफर्ममार्फत दर्शक तथा स्रोता संख्या बढाउने गरी विस्तार गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले थप्नुभयो, “अब भित्तामा राखिने टेलिभिजनको समय छैन । बदलिँदो प्रविधि र उपकरण अनुसार सुधार गर्नुपर्छ । एनटिभीका पाँचै च्यानलमार्फत जनताको विश्वास जित्ने, भ्यूअरशिप र प्रतिस्पर्धात्मक क्षमता बढाउनेतर्फ लाग्नुपर्छ ।” उहाँले आमसञ्चार माध्यमहरू टिक्न चुनौतीपूर्ण अवस्थामा पुगेको उल्लेख गर्दै प्रविधि र जनशक्ति व्यवस्थापनसहित व्यवसायिकरण र दिगोपनाका लागि सरकार आवश्यक सहजीकरण गर्न तयार रहेको बताउनुभयो ।






