फागुन २१ गतेको प्रतिनिधिसभा चुनाव सफल बनाउन राष्ट्रपतिको आह्वान

काठमाडौँ  –  राष्ट्रपति रामचन्द्र पौडेलले आउँदो फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको चुनाव सफल बनाउन सबै पक्षलाई आह्वान गर्नुभएको छ। आज सिंहदरबारस्थित कार्यक्रममा आयोजित सार्वजनिक सेवा प्रसारण नेपाल (PSB Nepal) को प्रथम वार्षिकोत्सवका अवसरमा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संविधान र लोकतन्त्रलाई अझ उन्नत र सुदृढ बनाउन चुनावलाई सफल बनाउनु अपरिहार्य रहेको बताउनुभयो।

राष्ट्रपति पौडेलले हालको राजनीतिक परिस्थितिमा युवा पुस्ताको सुशासन र विकासप्रतिको चाहनालाई सम्बोधन गर्न चुनावको माध्यम नै प्रभावकारी उपाय हुने उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “लोकतन्त्रको सुदृढीकरण गर्न र त्यसको प्रतिफल नागरिकले प्रत्यक्ष अनुभव गर्न चुनाव नै महत्त्वपूर्ण माध्यम हो।” उहाँले प्रविधिको दुरुपयोगमार्फत भ्रम, मिथ्या तथा संशयपूर्ण सूचना सम्प्रेषण गरी नागरिकलाई दिग्भ्रमित पार्ने जोखिम बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै जिम्मेवार आमसञ्चार माध्यमले सत्य, निष्पक्ष र विश्वसनीय समाचार प्रसारणद्वारा स्वस्थ चुनावी वातावरण निर्माणमा योगदान दिनुपर्नेमा जोड दिनुभयो।

त्यस अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल ले पनि आमसञ्चार माध्यमको भूमिकालाई व्यावसायिक, जिम्मेवार र विकासमुखी बनाउने आवश्यकता औँल्याउनुभयो। उहाँले भन्नुभयो, “प्रसारण हुने विषयवस्तु नै सञ्चार माध्यमको विश्वसनीयता र व्यावसायिकताको आधार हो, त्यसैले सामग्री निर्माणमा उच्च सावधानी अपनाउनुपर्छ।”

कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपाल (PSB Nepal) को प्रतीक चिन्ह (लोगो) सार्वजनिक गरिएको र नयाँ टेलिभिजन च्यानल ‘एन टिभी वर्ल्ड’ को शुभारम्भ गरिएको थियो। नेपाल टेलिभिजन र रेडियो नेपाललाई एकीकृत गरी स्थापना गरिएको पीएसबी नेपालले आज आफ्नो प्रथम वार्षिकोत्सव मनाएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्