कैलालीमा जिपको ठक्करबाट एकजनाको मृत्यु र तीन जना घाइते, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

कैलाली – कैलालीको घोडाघोडी नगरपालिका–२ साँडेपानीमा जिपको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । आइतबार बिहान करिब ५ः३० बजे टनकपुरस्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु २ च २३५८ नम्बरको तरकारी बोकेको जिपले साइकल यात्री र पैदल यात्रीलाई ठक्कर दिएको थियो । ठक्करबाट बर्दगोरीया गाउँपालिका–६ कोटा तुल्सिपुरका ५५ वर्षीय साइकल यात्री शंकर डगौराको मृत्यु भएको हो । घोडाघोडी अस्पताल सुखडमा पुर्‍याइएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

दुर्घटनामा अन्य तीनजना घाइते भएका छन् । साँडेपानीका ५४ वर्षीय पदमबहादुर शाहीको बाँया हात र खुट्टा भाँचिएको छ र उनको अवस्था मध्यम रहेको बताइएको छ । बर्दगोरीया गाउँपालिका–६ का ४५ वर्षीय हर्कबहादुर डगौरा र २५ वर्षीय कृष्ण डगौरा पनि घाइते भएका छन् । उनीहरूको हात, खुट्टा र छातीमा चोट लागेको छ र दुबैजनाको उपचार सुखडस्थित सि.यस. अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

घटनापछि जिप चालक रोल्पा त्रिवेणी गाउँपालिका–४ का २३ वर्षीय सन्तोष घर्तीमगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी टोलीले घटनास्थलको मुचुल्का तयार गरिरहेको छ । यस घटनापछि आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजमार्ग बौनियाँदेखि सुखडसम्म बन्द गरेका छन्, जसका कारण सवारी आवागमन ठप्प भएको छ । स्थानीयहरूले दुर्घटनाको निष्पक्ष छानबिन र मृतकका परिवारलाई न्यायको माग गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्