त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एज–लाइट सर्किट बिग्रिएपछि धावनमार्ग अन्धकार

काठमाडौं । देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल शनिबार साँझ करिब चार घण्टा बन्द रह्यो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग–किनारा संकेत गर्ने ‘एज–लाइट’ सर्किट बिग्रिएपछि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान अवरुद्ध भएका हुन् । ‘एज–लाइट’ प्रणाली बिग्रिएपछि विमानस्थल पूर्णरूपमा अन्धकार भएको र सुरक्षा दृष्टिले जोखिम बढेकाले उडान तथा अवतरण रोकिएको थियो । यस कारण तीन अन्तर्राष्ट्रिय उडान ‘डाइभर्ट’ भएका र सयौं यात्रु काठमाडौं विमानस्थल र जहाजभित्र अलपत्र परेका थिए ।

सोलबाट आएको कोरियन एयर सिमराको आकाशमा झण्डै दुई घण्टा ‘होल्ड’ मा रह्यो । त्यस्तै, दोहाबाट आएको कतार एयरवेज तीन घण्टा र दुबईबाट आएको फ्लाई दुबई एक घण्टाभन्दा बढी समयसम्म ‘होल्ड’ भएपछि क्रमशः दिल्ली, ढाका र लखनउमा डाइभर्ट भए । भारतको दिल्लीबाट आउनुपर्ने स्पाइस जेट ले भने आफ्नो उडान नै रद्द गर्‍यो । विमानस्थल बन्द हुँदा आन्तरिक उडानहरू पनि अवरुद्ध भए । काठमाडौं उपत्यका बाहिर जाने र काठमाडौं आउने दर्जनौं विमान र सयौं यात्रुहरू विमानस्थलमा नै अलपत्र परे ।

विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डे का अनुसार, शनिबार बिहान ४ बजेदेखि नै विद्युत् आपूर्तिमा समस्या देखिएको थियो । ‘एयर ट्राफिक टावरबाट लाइट बाल्दा पनि सर्किट नचल्ने देखिएपछि समस्या विद्युत् आपूर्तिसँग सम्बन्धित भएको पत्ता लाग्यो,’ उनले बताए । दिउँसो उज्यालो भएकोले ‘भीएफआर’ (Visual Flight Rules) प्रणालीमार्फत जहाजले अवतरण गर्न सकेका थिए । तर साँझ अँध्यारो भएपछि धावनमार्गमा ‘लाइटिङ’ अनिवार्य हुने भएकाले विमानस्थल नै बन्द गरेर मर्मत कार्य थालिएको हो । विमानस्थलका इन्जिनियरहरूका अनुसार जमिनमुनिको मुख्य लाइन बिग्रिएपछि बाइपास सर्किट प्रयोग गरी वैकल्पिक विद्युत् प्रणाली जडान गरिएको हो । त्यसपछि मात्र राति ९ः३६ बजे विमानस्थल पुनः सञ्चालनमा आएको थियो ।

धावनमार्गको उत्तरदेखि दक्षिणसम्मका ‘अल्फा’ देखि ‘डेल्टा ट्याक्सी–वे’ बीचका चारवटा ट्याक्सी–वेमा समस्या देखिएको बताइएको छ । त्रिभुवन विमानस्थलको धावनमार्ग ३३५० मिटर लम्बाइ र ४५ मिटर चौडाइको छ । दुवै किनारामा सेतो रङका ‘एज–लाइट’ बत्तीहरू बल्ने गर्छन् । यी बत्तीले राति र खराब मौसममा हुने ‘आईएफआर’ (Instrument Flight Rules) उडानमा जहाजलाई मार्गनिर्देशन गर्छन् ।

महाप्रबन्धक पाण्डेका अनुसार, प्रारम्भिक अध्ययनले कतिपय ठाउँमा पानी पस्ने, निर्माणका क्रममा डोजरले केबल काट्ने, र भाइब्रेटरको कारण विद्युत् ‘लिकेज’ हुने समस्या देखिएको छ । विस्तृत कारणबारे इन्जिनियरहरूले रिपोर्ट तयार गरिरहेका छन् ।


विमानस्थल मर्मतका लागि शनिबार दिउँसो साढे ३ बजेदेखि धावनमार्ग बन्द गरिएको थियो । यसबारे तीन पटक ‘नोटिस टु एयरम्यान’ (NOTAM) जारी गरिएको थियो । अन्तिम नोटाम राति ९ः२० बजेसम्मको लागि जारी गरिएको थियो । पर्यटन व्यवसायी तथा पाटा नेपालका पूर्वअध्यक्ष सुनिल शाक्य का अनुसार, शनिबारको घटना काठमाडौं विमानस्थलको पूर्वाधार व्यवस्थापनमा देखिएको दीर्घकालीन कमजोरीको संकेत हो ।
‘सामान्य वर्षाले एज–लाइट सर्किट सर्ट हुन पुग्नु र देशको मुख्य विमानस्थल ठप्प हुनु अत्यन्त गम्भीर विषय हो,’ उनले भने, ‘यो कमजोर इन्जिनियरिङ मापदण्ड, अपर्याप्त रोकथाम मर्मत र निष्क्रिय अनुगमन प्रणालीको परिणाम हो ।’ यसअघि पनि दुई वर्षअघि कोटेश्वरमा राखिएको ‘VORDME’ सर्किट बिग्रँदा विमानस्थल करिब दुई घण्टा बन्द भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्