काठमाडौँ – काठमाडौँको दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा भाडामा दिँदा अनियमितता भएको आरोपमा ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ट्रस्टको जग्गा भाडामा दिने सम्झौतासम्बन्धी अनियमितताबारे अनुसन्धान अघि बढाउँदै कार्कीलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार ट्रस्टलाई नोक्सानी पुग्ने गरी ३० वर्षका लागि जग्गा भाडामा दिने सम्झौता गरिएको थियो। यस सम्बन्धमा ठगी र आपराधिक विश्वासघात सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ। कार्की हाल अवकाशप्राप्त कर्मचारी हुन्। उनले ट्रस्टको जग्गा थामसेर्कु ट्रेकिङ प्रालिलाई भाडामा दिने क्रममा नियमानुसार सञ्चालक समितिको निर्णयबिना र कानूनी आधार नबनाई अर्को कित्ता पनि थप गरी लिज सम्झौता गरेको आरोप लागेको छ।
२०७४ साल जेठ १४ गते गरिएको उक्त सम्झौता मूलतः तीन वर्षका लागि निर्माण अवधिको बीओटी मोडलमा सीमित हुनुपर्नेमा ३० वर्षका लागि लिजमा दिने निर्णय गरिएको थियो। प्रहरीले प्रारम्भिक अनुसन्धानको क्रममा ट्रस्टका तत्कालीन अधिकारी, कर्मचारी र अन्य व्यक्तिहरूले गैरकानूनी लाभ लिएको आशंका पुष्ट भएको जनाएको छ। यस प्रकरणमा अन्य व्यक्तिहरूमाथि पनि अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।






