काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै योग्य नागरिकलाई आजै मतदाता परिचयपत्र बनाउने आह्वान गर्नुभएको छ। उहाँले शुक्रबार एक भिडियो सन्देश जारी गर्दै लोकतान्त्रिक समाजमा नागरिकको सपना साकार पार्ने आधार नै विवेक र मतदान भएको उल्लेख गर्नुभयो।
प्रधानमन्त्री कार्कीले भन्नुभयो, “लोकतान्त्रिक समाजमा नागरिकको सपना साकार पार्ने दुई मूलभूत साधन छन् — पहिलो, तपाईं हामी नागरिकको विवेक हो, जसले सही गर्छ, गलत गर्दैन र गलत गर्न दिँदैन। दोस्रो, त्यो विवेकलाई प्रयोग गर्ने आधिकारिक साधन हो — मतदाता परिचयपत्र।” उहाँले सबै योग्य नागरिकलाई मतदाता परिचयपत्र बनाएर विवेकपूर्ण मतदान गर्न आग्रह गर्नुभयो। उहाँका अनुसार, जेनजी युवा र समस्त नेपालीको सपना — नेपाललाई यथार्थको नेपाल बनाउनको पहिलो कदम नै मतदाता परिचयपत्र बनाउन र त्यसको सही उपयोग गर्न हो।
प्रधानमन्त्री कार्कीले थप गर्नुभयो, “हामीले बेथितिसँग लड्न, देश विकासमा हातेमालो गर्न, र नयाँ युगको सुरुवात गर्न आफ्नै विवेक र मतको शक्तिलाई प्रयोग गर्नुपर्छ। हरेक योग्य नागरिकले आफ्नो मताधिकारको सदुपयोग गरेर सही प्रतिनिधि छान्न जरुरी छ।” उहाँको उक्त सन्देशलाई देशभरका मतदाताहरूले लोकतान्त्रिक अभ्यासमा सहभागी हुन प्रेरणादायी कदमको रूपमा स्वागत गरेका छन्।






