काठमाडौँ – पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीमा शुक्रबार भव्य रूपमा आयोजना गरिएको विज्ञान प्रदर्शनीमा विद्यार्थीहरूले विविध र आकर्षक परियोजनाहरू प्रस्तुत गरेका छन्। प्रदर्शनीको समुद्घाटन संस्थापक प्रिन्सिपल आरबी कटवलाले गर्नुभयो । प्रदर्शनीमा विद्यार्थीहरूले रोबोट प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई), वातावरण संरक्षण, ऊर्जा स्रोतहरूको उपयोग र आधुनिक घर निर्माण प्रविधिसँगै हाइड्रो पावरको नमुना परियोजना समेत प्रदर्शन गरेका थिए।
विद्यालयका संस्थापक प्रिन्सिपल आरबी कटवालले प्रदर्शनीको अवलोकन गर्दै विद्यार्थीहरूको रचनात्मकता र वैज्ञानिक दृष्टिकोणको प्रशंसा गर्नुभयो। उहाँले भन्नुभयो, “विद्यार्थीहरूले प्रस्तुत गरेका परियोजनाहरूले उनीहरूमा लुकेको नवप्रवर्तनशील सोच र आविष्कार गर्ने क्षमता प्रष्ट देखाउँछ। विशेषतः हाइड्रो पावर र एआई प्रविधिमा आधारित परियोजनाले हाम्रो भविष्यको ऊर्जा र प्रविधि सम्भावना उजागर गरेको छ।”
प्रदर्शनीमा विद्यार्थीहरूले आफ्ना परियोजनाहरूको कार्यविधि, प्रयोग र व्यवहारिक प्रभावबारे विस्तृत व्याख्या गरेका थिए। दर्शक र अभिभावकहरूले विद्यार्थीहरूको प्रस्तुतीकरण, प्राविधिक ज्ञान र सिर्जनात्मक सोचको खुलेर प्रशंसा गरे। विशेष आकर्षणका रूपमा प्रदर्शनीमा देखाइएको हाइड्रो पावरको नमुनाले विद्यालयका आगन्तुक, शिक्षक र अभिभावकहरूको विशेष ध्यान खिचेको थियो। विद्यार्थीहरूले सानो टर्बाइन, पानीको प्रवाह र विद्युत उत्पादन प्रक्रियाको वास्तविक प्रदर्शन गरेर ऊर्जा उत्पादनको वैज्ञानिक सिद्धान्तलाई जीवन्त रूपमा प्रस्तुत गरे।
कार्यक्रममा अभिभावक, शिक्षक र विद्यार्थी गरी करिब १५ सयभन्दा बढी दर्शकहरूको उत्साहजनक उपस्थिति रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा अनुसन्धान, आविष्कार र व्यवहारिक सिकाइको संस्कार विकास गर्न ठूलो भूमिका खेल्ने बताएका थिए। नेक्सस इन्टरनेशनल एकेडेमीको विज्ञान प्रदर्शनीले विद्यार्थीहरूको वैज्ञानिक र सिर्जनात्मक क्षमतालाई उजागर गर्दै, उनीहरूलाई भविष्यमा विज्ञान, प्रविधि र ऊर्जा विकासका क्षेत्रमा अघि बढ्न प्रेरणा दिएको विद्यालयले जनाएको छ।