चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको विस्तारित बैठक आज (बिहीबार) चितवनको सौराहामा प्रारम्भ भएको छ। बैठकमा देशभरका ५ सयभन्दा बढी प्रतिनिधि सहभागी भएका छन्। बैठकको प्रारम्भिक सत्रमा कार्यवाहक सभापति डोलप्रसाद अर्याल ले पार्टीको हालसम्मको राजनीतिक स्थिति, संगठनात्मक विस्तार र आगामी रणनीतिबारे प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
त्यसैगरी, उपसभापति डा. स्वर्णिम वाग्ले ले आउँदो निर्वाचनका लागि तयार पारिएको प्रतिबद्धतापत्रको प्रारम्भिक मस्यौदा बैठकमा पेश गर्नेछन्। मस्यौदामाथि प्रतिनिधिहरूले सुझाव दिने र आवश्यक परे संशोधन गरी अन्तिम रूप दिने तयारी गरिएको छ। बैठकमा प्रदेश सभापतिहरूले आफ्ना-आफ्ना प्रदेशभित्रका जिल्लामा पार्टीको संगठनात्मक स्थिति, सदस्यता विस्तार, र कार्यगत चुनौतीबारे जानकारी प्रस्तुत गर्ने कार्यक्रम पनि छ।
रास्वपाले आउँदो फागुन महिनामा महाधिवेशन गर्ने तयारी गरेको छ, र चितवनको यो बैठकले त्यसको पूर्वतयारीको रूप लिएको बताइएको छ। पार्टीका नेताहरूका अनुसार विस्तारित बैठक दुई दिनसम्म चल्नेछ। पहिलो दिन प्रतिवेदन प्रस्तुति र छलफलमा केन्द्रित रहनेछ भने दोस्रो दिन महाधिवेशन तयारी, संगठन सुदृढीकरण, र आगामी राजनीतिक कार्यक्रमबारे निर्णय हुने अपेक्षा गरिएको छ।






