भक्तपुर – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै आफ्नो पार्टीले देशभर आन्दोलन गर्ने चेतावनी दिनुभएको छ। बिहीबार भक्तपुरको गुन्डुस्थित आफ्नै निवासमा पुगेर नेता तथा कार्यकर्तासँग कुराकानी गर्दै उहाँले देशलाई ‘छाडातन्त्र’ मा धकेल्ने उद्देश्यले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरिएको आरोप लगाउनुभयो। उहाँका अनुसार, सरकारसँग प्रतिनिधिसभा विघटन गर्ने कुनै संवैधानिक हैसियत नै नभए पनि राष्ट्रपति रामचन्द्र पौडेलले त्यसको सिफारिसका आधारमा प्रतिनिधिसभा भंग गरेर ठूलो गल्ती गर्नुभएको छ।
उहाँले भन्नुभयो, “यो असंवैधानिक सरकारले प्रतिनिधिसभा किन भंग गरेको हो भने देशलाई बेलगाम छाडातन्त्रमा चलाउन प्रतिनिधिसभा विघटन गरेको हो। यो असंवैधानिक ढंगले भंग गरिएको छ। सिफारिस गर्ने हैसियत नै नभएकाहरूले सिफारिस गरेका छन्, र संविधानको कुनै धारामा नपर्ने गरी राष्ट्रपतिले भंग गर्नुभएको छ। गर्नुहुँदैनथ्यो। त्यस कारण हामीले यो विघटित प्रतिनिधिसभाको पुनःस्थापनाको माग गरेका छौँ, त्यसका लागि आन्दोलन गर्छौँ र अघि बढ्छौँ।”
उहाँले संविधानविपरीत प्रतिनिधिसभा विघटन भएको भन्दै एमालेले त्यसको विरोधमा देशभर आन्दोलन कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभयो। त्यससँगै उहाँले मुलुकमा शान्ति–सुरक्षाको प्रत्याभूति र राजनीतिक स्थायित्व कायम गर्न पार्टीले “युथ भोलिन्टियर्स फोर्स” गठन गर्ने निर्णय गरेको समेत बताउनुभयो। एमालेले प्रतिनिधिसभा पुनःस्थापनाको मागलाई केन्द्रीय राजनीतिक एजेन्डा बनाउँदै आन्दोलनका स्वरूप र चरणबारे छलफल अघि बढाइरहेको जानकारी उहाँले दिनुभएको छ।






