काठमाडौँ — संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालीका लागि श्रम र भिजिट भिसा रोक्दा वर्क परमिट (श्रम अनुमति) प्राप्त झन्डै पाँच हजार नेपाली श्रमिक विदेश जानबाट रोकिएका छन् । यूएईको मानव संसाधन तथा इमिराती मन्त्रालयले जारी गरेका वर्क परमिटको म्याद सकिँदै जाँदा श्रमिकहरू वैदेशिक रोजगारीका तयारीबीच अनिश्चित अवस्थाको सामना गरिरहेका छन् ।
गत भदौ २४ गते यूएईमा भएको प्रदर्शन र त्यसक्रममा केही नेपाली जेलबाट भागेपछि त्यहाँको सरकारले नेपाली नागरिकका लागि नयाँ भिसा वितरण स्थगन गरेको थियो । उक्त नीतिका कारण भिसा पाउने प्रक्रिया रोकिँदा वर्क परमिट जारी भइसकेका श्रमिकको प्रस्थान पनि अवरुद्ध भएको हो ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका प्रतिनिधिहरूले सरकारले यूएईसँग कूटनीतिक पहल गरी समाधान खोज्नुपर्ने माग गर्दै भेटघाट तथा छलफल तीव्र पारेका छन् । वर्क परमिट जारी भइसकेका श्रमिकलाई अनुमति दिन सके रोजगार व्यवसायीहरूलाई समेत राहत हुने उनीहरूको तर्क छ ।
हाल यूएईस्थित नेपाली दूतावासले सो विषयमा स्थानीय अधिकारीहरूसँग निरन्तर समन्वय गरिरहेको छ । यूएई नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक हो । वैदेशिक रोजगार विभागका तथ्यांक अनुसार श्रम स्वीकृति लिने करिब ४० प्रतिशत नेपाली यूएई जाने गर्छन् । चालु आर्थिक वर्षको साउन महिनामात्रै १७ हजार ७७९ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् भने ६ हजारभन्दा बढीले पुनः श्रम स्वीकृति पाएका छन् ।
अघिल्लो आर्थिक वर्षमा यूएईका लागि दुई लाखभन्दा बढी नेपालीले श्रम स्वीकृति लिएका थिए । अहिले भिसा रोकिएपछि वर्क परमिट प्राप्त श्रमिक, व्यवसायी र अभिभावक सबै अनिश्चित प्रतीक्षामा छन् ।






