काठमाडौँ – नेकपा (एमाले) ले गएको भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा भएका घटनाको छानबिनका लागि सरकारद्वारा गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वको आयोग अस्वीकार गरेको छ। पार्टीले उक्त आयोगबाट निष्पक्ष र स्वतन्त्र छानबिनको अपेक्षा गर्न नसकिने जनाएको छ।
एमालेले अध्यक्ष केपी शर्मा ओलीद्वारा जारी २३ पन्ने अन्तरपार्टी निर्देशन (अपानी) मार्फत सर्वोच्च अदालतका पूर्वन्यायाधीशको अध्यक्षतामा नयाँ, स्वतन्त्र र निष्पक्ष छानबिन आयोग गठन गर्न माग गरेको हो। अपानीमा भनिएको छ, “अहिलेको आयोगबाट घटनाको सत्यतथ्य र निष्पक्ष छानबिन हुने आशा गर्न सकिँदैन।”
निर्देशनमा पार्टीको विधान महाधिवेशनदेखि पछिल्ला सचिवालय र केन्द्रीय कमिटीका बैठकका निर्णय समेटिएका छन्। भदौ २३ र २४ को आन्दोलन, त्यसपछि उत्पन्न अवस्था र पार्टीको आगामी ११औं महाधिवेशनका विषयमा पनि विस्तृत रूपमा उल्लेख गरिएको छ।
पोखरामा गर्ने भनिएको ११औं महाधिवेशन हालको विषम परिस्थिति र राजनीतिक अस्थिरताको कारण काठमाण्डौमा सारिएको अपानीमा जनाइएको छ। साथै, पार्टीले प्रतिनिधि सभा विघटनको विरोध गर्दै विघटित सभाको पुनःस्थापनाको माग समेत गरेको छ।
एमालेले हालको राजनीतिक परिस्थितिमा संविधान र लोकतान्त्रिक मूल्यहरूलाई कायम राख्न सबै पक्ष संयमित रहनुपर्ने पनि अपिल गरेको छ।






