काठमाडौं — आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावलाई लक्षित गर्दै निर्वाचन आयोगले देशभर मतदाता नामावली सङ्कलनको काम तीव्र रूपमा अघि बढाएको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार मतदाता नामावली सङ्कलनदेखि लिएर आवश्यक सामग्री खरिद र आचारसंहिता निर्माणसम्मका सबै तयारी अन्तिम चरणमा पुगेका छन्।
आयोगले आगामी चुनावका लागि आवश्यक पर्ने ७९ प्रकारका सामग्रीको सूची तयार गरेको छ। ती सामग्रीमा मतपेटिका, औँलामा चिह्न लगाउने मार्कर पेन, स्वस्तिक छाप, स्ट्याम्प प्याड र मसी, कागज, डटपेन, धागो, सियो, पिन, किला, स्टेपलर, गम, लाहा, मैनबत्ती, ब्लेड, कार्बन पेपर, कैँची र फारमलगायतका सामग्रीहरू समावेश छन्।
कार्यवाहक प्रमुख आयुक्त भण्डारीका अनुसार आवश्यक पर्ने ७९ मध्ये १४ वटा सामग्री खुला प्रतिष्पर्धामार्फत खरिद गर्ने तयारी गरिएको छ। उनले मतपत्र छपाइका लागि आवश्यक कागज र मतपेटिका आयोगसँग पर्याप्त मात्रामा स्टकमा रहेको भएकाले ती सामग्री किन्नु नपर्ने जानकारी दिए।
यसैबीच, अन्तरिम सरकारले फागुन २१ गतेका लागि प्रतिनिधिसभा चुनाव घोषणा गरिसकेपछि आयोगले विभिन्न राजनीतिक दल र सरोकारवालाहरूसँग वार्ता र छलफल तीव्र पारेको छ। आयोगले मतदाता शिक्षा, प्राविधिक तयारी र निर्वाचन वातावरण निर्माणका कार्यहरू पनि सँगसँगै अघि बढाइरहेको जनाएको छ।







