जेनजी आन्दोलनका क्रममा मृत्यु भएकामध्ये ४५ जनालाई सरकारले शहीद घोषणा गर्‍यो

काठमाडौं – सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई शहीद घोषणा गरेको छ।  मन्त्रिपरिषद् बैठकले ती ४५ जनालाई राज्यका तर्फबाट शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए। उनका अनुसार राष्ट्रहित, सुशासन र भ्रष्टाचार नियन्त्रणका माग राख्दै जेन–जी पुस्ताद्वारा भदौ २३ र २४ गते गरिएको प्रदर्शनका क्रममा काठमाडौंसहित देशका विभिन्न भागमा मृत्यु भएका व्यक्तिलाई शहीद घोषणा गरिएको हो। मन्त्री खरेलले भने, “गृहमन्त्रालय लगायत सरोकारवाला निकायको अध्ययनपछि हालका लागि ४५ जनालाई शहीद घोषणा गरिएको छ। बाँकी घटनाको थप अध्ययन जारी छ।”

यसअघि नेपाली सेनाले आन्दोलनका क्रममा मारिएका ७६ जनामध्ये ४१ जनाको मृत्युका कारणमा प्रश्न उठाउँदै उनीहरूलाई “अन्य” सूचीमा राखेको थियो। सेनाले उपलब्ध गराएको विवरणअनुसार २२ जना प्रदर्शनकारी, ३ जना प्रहरी र १० जना कैदीको ज्यान गएको उल्लेख छ। बाँकी ४१ जनाको मृत्यु लुटपाट, आगजनी वा आफ्नै कार्यबाट भएको हुनसक्ने आशंका सेनाले जनाएको थियो।

सेनाको विवरणमा भाटभटेनी लगायतका स्थानमा आगजनीका क्रममा जलेका तथा विभिन्न घरमा आगो लगाउँदा मृत्यु भएका व्यक्तिहरू “अन्य” को सूचिमा परेका थिए। सरकारले भने ती घटनाबारे थप छानबिन गरी आवश्यक परे थप व्यक्तिलाई पनि शहीद सूचीमा समावेश गर्ने संकेत गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्