नख्खु कारागार घटनाबारे छानबिन आयोगले रवि लामिछानेसँग गरे भेटवार्ता

काठमाडौं । भदौ २३ र २४  मा नख्खु कारागारमा भएको घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई समेत भेटेको छ। आयोगको टोली सोमबार ललितपुरस्थित नख्खु कारागार पुगेर लामिछानेसँग भेटवार्ता गरेको स्रोतले जनाएको छ। आयोगले उनको औपचारिक बयान लिने तयारीसमेत गरेको छ।

कारागार स्रोतका अनुसार लामिछानेले आयोगका अधिकारीहरूसमक्ष २४ भदौमा सिर्जित तनावपूर्ण परिस्थितिबीच स्थिति सामान्य बनाउन कारागार प्रशासनलाई सहयोग गर्न खोजेको बताएका छन्। ‘मैले भनेको थिएँ, कारागारमा अपराधी छन्, झगडा नहोस्, बरु माइक दिनुस्, म सबैलाई सम्झाउँछु,’ लामिछानेको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो। उनका अनुसार परिस्थिति नियन्त्रणबाहिर गएपछि आफू त्यहाँबाट बाहिर निस्किएको लामिछानेले बताएका छन्।

आयोगले नख्खु कारागारका प्रमुख सत्यराज जोशीसँग पनि बयान लिएको छ। आयोगका अधिकारीहरूले उनलाई लामिछानेलाई बाहिर निकाल्न लेखिएको पत्रबारे सोधेका थिए। जोशीले त्यसबेला आफ्नो ज्यानसमेत जोखिममा परेको अवस्था देखिएपछि पत्रको ब्यहोरा नहेरी हस्ताक्षर गरेको दाबी गरेका छन्। नख्खु कारागारमा २३ र २४ भदौमा कैदीबन्दीबीच झडप र तनाव सिर्जना भएपछि त्यसबारे सत्य तथ्य पत्ता लगाउन सरकारले जाँचबुझ आयोग गठन गरेको हो। आयोगले घटनासम्बन्धी विभिन्न पक्षहरूसँग क्रमशः बयान संकलन गर्दै आएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्