प्रचण्डसँग जनार्दन शर्मा र घनश्याम भूसालको छुट्टाछुट्टै भेट, नयाँ पार्टीमा नआउने घोषणा

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग माओवादीकै नेता जनार्दन शर्मा र नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालबीच छुट्टाछुट्टै भेटवार्ता भएको छ। स्रोतका अनुसार दुबै नेताले प्रचण्डलाई ८ दलबीच एकता भई बन्न लागेको नयाँ पार्टीमा आफूहरू सहभागी नहुने जानकारी गराउँदै बिदा मागेका छन्। आइतबार साँझ माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायत आठ दलबीच एकीकरणको सहमति भएको थियो। तर, माओवादी नेता जनार्दन शर्माले उक्त एकता प्रक्रियामा नजाने अडान लिएका छन्।

‘मैले आफ्ना कुरा पार्टी र नेतृत्वमा प्रष्ट ढंगले राखिसकेको छु,’ शर्माले सेतोपाटीसँग भने, ‘म एकीकृत समाजवादीसहित ८ दलीय एकीकरणमा जाँदिनँ। म बृहत् वामलोकतान्त्रिक ध्रुवीकरणको पक्षमा छु र त्यसैका लागि क्रियाशील रहनेछु।’ शर्माले माओवादी सचिवालय बैठकमा पनि एकीकृत समाजवादीसहितको एकताबारे फरक मत राखेका थिए। पार्टीभित्रै मतैक्य नभएको अवस्थामा बाह्य एकता गर्न खोजिएको भन्दै उनले आपत्ति जनाएका थिए। तर संयोजक प्रचण्डले अन्तिमसम्म शर्मा पनि एकता प्रक्रियामा आउने विश्वास व्यक्त गरेका थिए। त्यस्तै, एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले पनि प्रचण्डसँग आइतबार र सोमबार गरी दुई दिन भेटवार्ता गरेका थिए। एकीकृत समाजवादीका एक नेताका अनुसार सोमबार बिहानको भेटमा भूसालले ‘अब पार्टी एकताबारे छलफलको सान्दर्भिकता नरहेको’ भन्दै प्रचण्डसँग बिदा मागेका थिए।

आइतबारको भेटमा प्रचण्डले आफू चुनावअघि नयाँ बन्ने पार्टीको नेतृत्व छाड्न तयार रहेको र यसबारे माधवकुमार नेपालसँग पनि छलफल गर्ने आश्वासन दिएका थिए। तर आइतबार साँझ ८ दलबीच एकता र नेतृत्व बाँडफाँट टुंगिएपछि सोमबार बिहान भूसालले थप संवाद नगरी बिदा मागेका हुन्। दुबै नेताबीचको भेटवार्ता प्रचण्डको निवासमा भएको थियो। यससँगै माओवादी केन्द्रभित्र तथा वाम राजनीतिक वृत्तमा ८ दलबीचको नयाँ एकता प्रक्रियाप्रति फरक धारणा सार्वजनिक हुँदै गएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्