काठमाडौँ– हिजो दिउँसोको तुलनामा आज मौसममा केही सुधार देखिए पनि पश्चिमी वायूको प्रभाव अझै कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना छ।
भोलि भने देशभर मौसम पुनः बदली रहने र वर्षाको सम्भावना बढ्ने पूर्वानुमान गरिएको छ। विशेषगरी गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले यी क्षेत्रका बासिन्दा, किसान र पर्यटकहरूलाई मौसममा आउने परिवर्तनका कारण दैनिक जनजीवन, कृषि तथा पर्यटन गतिविधिमा सतर्कता अपनाउन अनुरोध गरेको छ। यसअघि गएको केही दिनदेखि पश्चिमी वायूको सक्रियताका कारण देशका अधिकांश पहाडी तथा हिमाली भूभागमा चिसो बढेको र उच्च हिमाली क्षेत्रमा हिमपात भएकाले तापक्रम घटेको महाशाखाको भनाइ छ।






