काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्की र सातै प्रदेशका मुख्यमन्त्रीबीच आसन्न निर्वाचनका लागि अनुकूल वातावरण तयार गर्न सहकार्य गर्नेबारे हिजो बालुवाटारमा छलफल भएको छ। बैठकमा प्रदेशका मुख्यमन्त्रीहरूले आगामी निर्वाचन निर्धारित मितिमै सम्पन्न गर्न संघ सरकारसँग घनिष्ठ समन्वय र सहकार्य गर्न तयार रहेको बताएका छन्।
मुख्यमन्त्रीहरूले चुनावको प्रमुख चुनौती शान्ति–सुरक्षाको रहेको बताउँदै यस क्षेत्रमा संघ सरकारले गम्भीरताका साथ काम गर्नुपर्ने सुझाव दिएका छन्। उनीहरूले संघ, प्रदेश र स्थानीय तहबीच आपसी सहकार्य, समन्वय र सहअस्तित्वको भावनाले अघि बढे निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सकिने विश्वास व्यक्त गरे। छलफलमा जेन–जी आन्दोलनका क्रममा क्षति पुगेका संरचनाको पुनःनिर्माणका लागि संघ सरकारले विशेष प्याकेज ल्याउनुपर्ने सुझाव पनि मुख्यमन्त्रीहरूले दिएका छन्। त्यस्तै, हालको खडेरी र अतिवृष्टिबाट प्रभावित किसानका लागि राहत घोषणा गर्न माग गरिएको छ।
ऊर्जा क्षेत्रसम्बन्धी विषयमा मुख्यमन्त्रीहरूले डेडिकेटेड र ट्रंकलाइन फिडरको बक्यौता नबुझाउने उद्योगहरूको बिजुली काट्ने निर्णयले उद्योग, मजदुरको रोजगारी र राजस्वमा नकारात्मक असर पर्ने भन्दै त्यसतर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्। प्रधानमन्त्री कार्कीले मुख्यमन्त्रीहरूका सुझावका लागि धन्यवाद ज्ञापन गर्दै संघीय संरचनामार्फत समन्वित ढंगले देशभर स्थिर र निष्पक्ष चुनावी वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।







