अफगानिस्तानमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प, मजार–ए–शरिफमा जनजीवन त्रसित

काबुल, नोभेम्बर ३ — अफगानिस्तानको उत्तरी क्षेत्रमा गएराति शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण संस्था (USGS) का अनुसार भूकम्प मजार–ए–शरिफ नजिकैको खोल्मा क्षेत्रमा स्थानीय समय अनुसार राति १२ बजेर ५९ मिनेटमा गएको हो। भूकम्पको तीव्रता ६.३ म्याग्निच्युड र केन्द्र करिब २८ किलोमिटर गहिराइमा रहेको बताइएको छ।

कतारी सञ्चार माध्यम अलजजिराका अनुसार भूकम्पले मजार–ए–शरिफ र आसपासका क्षेत्रमा तीव्र कम्पन महसुस भएको थियो। स्थानीय बासिन्दाहरू मध्यरातमा घर भत्किने डरले सडकमा निस्किएका छन्। यद्यपि अहिलेसम्म कुनै ठूलो मानवीय वा भौतिक क्षतिको विस्तृत विवरण प्राप्त भएको छैन। स्थानीय अधिकारीहरूले आपतकालीन सम्पर्क नम्बर सार्वजनिक गरी राहत टोलीहरू तयारी अवस्थामा राखेका छन्।

सन् २०२१ मा सत्तामा फर्किएपछि तालिबान सरकारले पटक–पटक ठूला प्राकृतिक विपद्‌हरूको सामना गर्दै आएको छ। यसै वर्ष अगस्ट ३१ मा अफगानिस्तानको पूर्वी क्षेत्रमा गएको ६ म्याग्निच्युडको भूकम्पमा २,२०० भन्दा बढी मानिसको ज्यान गएको थियो।

विशेषज्ञहरूका अनुसार अफगानिस्तान हिन्दु कुश पर्वतशृंखलाको आसपास अवस्थित भएकाले यहाँ बारम्बार भूकम्प जाने गर्छ। यो क्षेत्र युरेशियन र भारतीय टेक्टोनिक प्लेटहरू एक–अर्कासँग ठोक्किने बिन्दुमा पर्ने भएकाले भूकम्पको जोखिम उच्च रहँदै आएको छ। सन् १९०० यतादेखि अफगानिस्तानको उत्तरपूर्वी भागमा ७ म्याग्निच्युडभन्दा माथिका १२ वटा शक्तिशाली भूकम्पहरू दर्ज भएका छन्।

अधिकारीहरूले सम्भावित क्षति मूल्याङ्कनका लागि टोलीहरू प्रभावित क्षेत्रमा पठाइरहेको बताएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्