नेकपा एकीकृत समाजवादीभित्र पुनः विभाजन, झलनाथ–भूसाल समूह फुट्यो, एमाले फर्कने तयारी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)भित्र फेरि नयाँ समूह गठन भएको छ । अध्यक्ष माधवकुमार नेपालको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै बनेको झलनाथ खनाल–घनश्याम भूसाल समूह नै फेरि विभाजित भएको छ। नेता कृष्णकुमार श्रेष्ठका अनुसार आफूहरू अब झलनाथ–भूसाल समूहमा रहने छैनन् र छुट्टै तयारीमा जुटेका छन्। “हाम्रो अर्कै तयारी चलिरहेको छ, केही दिनभित्रै टुंगोमा पुग्छौं,” श्रेष्ठले भने।

श्रेष्ठका अनुसार रामकुमारी झाँक्री, डा. वंशीधर मिश्र, होम बुढाथोकी, अमरबहादुर थापा, अर्जुन राईलगायत नेताहरू पनि यो नयाँ समूहमा छन्। उनीहरूले माधव नेपालको माओवादी केन्द्रसँगको एकता प्रक्रियाको निर्णयमा असहमति जनाएका छन्। “माधव नेपालले जसरी माओवादीमा जाने निर्णय गर्नुभयो, त्यसमा हामी सहमत छैनौं,” श्रेष्ठले भने, “केन्द्रीय समिति विस्तारको निर्णय पनि हामीले स्वीकृति दिएका छैनौं। तर, एकता प्रक्रियाबारेको छलफल भने रोकिएको छैन।”

यद्यपि, उनीहरूले घनश्याम भूसालको नेतृत्वमा बनेको समूहमा नजाने स्पष्ट पारेका छन्। भूसालले आज बोलाएको छलफलमा पनि श्रेष्ठ समूहका नेताहरू सहभागी भएनन्। श्रेष्ठले एमालेमा फर्कने सम्भावनाबारे संकेत गर्दै भने, “एमालेले सहज वातावरण बनायो भने हामी पुरानै घर फर्कन सक्छौं। अहिले देशभरबाट करिब १०० जना जति एमालेमै फर्कने तयारीमा छौं।” यससँगै एकीकृत समाजवादीभित्रको आन्तरिक द्वन्द्व थप तीव्र बनेको छ र पार्टी फेरि अर्को विभाजनको संघारमा पुगेको देखिन्छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्