एक महिनामा ९३ हजारभन्दा बढी नयाँ मतदाता थपिए

फाइल तस्बिर

 

काठमाडौं — कानुन संशोधनपछि सुरु गरिएको मतदाता नामावली संकलन अभियानमा करिब एक महिनामा ९३ हजार ३५१ नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगका अनुसार १२ असोजदेखि सुरु भएको नामावली संकलनमा हालसम्म ५६ हजार ७१८ पुरुष, ३६ हजार ६२४ महिला र ९ अन्य मतदाता सूचीकृत भएका छन् ।

आयोगले नयाँ मतदाता दर्ताका लागि ३० कात्तिकसम्मको समय तोकेको छ, जसअनुसार अब करिब दुई साताको समय मात्र बाँकी छ । आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार शनिबार र बिदा बाहेकका दिन कात्तिकभर नयाँ मतदाताका लागि नाम दर्ता गराउन सकिनेछ ।

हाल दैनिक ६–७ हजार मतदाता सूचीकृत भइरहेका छन् भने अवधि सकिन लागेकाले महिनाको अन्त्यतिर यो संख्या दैनिक १० हजारसम्म पुग्न सक्ने आयोगको अनुमान छ ।

सरकारले जेन–जी आन्दोलनपछि प्रतिनिधिसभा विघटन भई २१ फागुनमा निर्वाचन मिति तोकिएपछि मतदाता नामावली ऐन संशोधन गरी निर्वाचन घोषणापछि पनि नयाँ मतदाता सूचीकृत गर्ने व्यवस्था मिलाएको थियो ।

आयोगका अनुसार गत असारसम्म देशभर १ करोड ८१ लाख ६८ हजार २३० मतदाता दर्ता भएका थिए, जसमा ९२ लाख ५१ हजार ५४१ पुरुष, ८९ लाख १६ हजार ५०२ महिला र १८७ अन्य मतदाता छन् ।

नयाँ सूचीकृत मतदाताहरू आगामी प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न योग्य हुनेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्