दुबई — आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय सिरिजमा नेपालले अमेरिकामाथि २७२ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २७१ रन बनायो ।
नेपालका दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै ७५ रनको योगदान दिए । त्यस्तै करन केसीले ४९, कुशल भुर्तेलले ४७, भिम सार्कीले ४३ र कप्तान रोहितकुमार पौडेलले ३६ रन जोडे ।
बलिङतर्फ अमेरिकाका हरमित सिंहले तीन विकेट लिए भने नोस्टुस केन्जिगे र सौरभ नेत्रवलकरले दुई–दुई विकेट हात पारे । जसदीप सिंह र शुभम रञ्जनेले समान एक–एक विकेट लिए ।
अब केही बेरमै अमेरिका लक्ष्य पछ्याउँदै मैदानमा उत्रनेछ ।
यसअघि भएको सिरिजका खेलहरूमा नेपालले अपेक्षित नतिजा निकाल्न सकेको छैन । पहिलो खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको थियो भने दोस्रो खेलमा घरेलु टोली यूएईसँग पाँच विकेटले हार बेहोरेको थियो ।
नेपालले यूएईमा भइरहेको यो सिरिजको अन्तिम खेल आउँदो बुधवार घरेलु टोलीसँग खेल्नेछ । त्यसपछि टोली स्वदेश फर्कनेछ ।
लिग–२ को अंक तालिकामा हालसम्म नेपालले १८ खेलमा १२ अङ्क जोड्दै सातौँ स्थानमा रहेको छ । शीर्ष स्थानमा रहेको अमेरिकाले २२ खेलमा ३२ अङ्क जोडेको छ भने यूएई १८ खेलमा आठ अङ्कसहित पुछारमा छ ।






