काठमाडौँ — हाल नेपालमा पश्चिमी वायु र अरब सागरमा विकसित न्यून चापीय प्रणालीको प्रभाव कायम रहेकाले देशका अधिकांश स्थानमा मौसम बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा, कोशी र मधेशका थोरै स्थानमा तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा मध्यम हिमपात हुन सक्ने र कर्णाली प्रदेशका उच्च भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी प्रदेशहरूमा आंशिक बदली रहने अनुमान गरिएको छ। सोही अवधिमा ती प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको बताइएको छ।
मौसमविद्हरूले यात्रु र हिमाली क्षेत्रतर्फ जाने सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन सुझाव दिएका छन्।







