काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ र त्यससँग सम्बन्धित न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा र बदली भएको छ। तर, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज साँझदेखि क्रमिक रूपमा मौसममा सुधार आउनेछ।
महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रहेको छ भने बाँकी प्रदेशहरूमा सामान्य बदली रहनेछ।
आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। साथै, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।
महाशाखाले कोशी, मधेश र बागमती प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ।
त्यस्तै, कोशी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात हुन सक्ने सम्भावना पनि रहेको छ।
मौसम महाशाखाले भारी वर्षा र हिमपातको सम्भावना रहेका क्षेत्रका सर्वसाधारण, किसान, यात्रु र सवारी चालकलाई सतर्कता अपनाउन आग्रह गरेको छ।






