काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक खण्डका विभिन्न स्थानमा पहिरो र लेदो खसेपछि सवारी आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ ।
राजमार्ग अवरुद्ध हुँदा पूर्वतर्फ गइरहेका सवारी साधनहरू काभ्रेपलाञ्चोकको भकुन्डे क्षेत्रमा रोकिएका छन् ।
वर्षाका कारण चौकीडाँडा, चारसयबेसीको नाङसाल क्रसर, बोक्सीकुना, माम्ती, नार्के, पिन्थलीबेसी र विरुवाडाँडा लगायतका स्थानमा ठूलो परिमाणमा पहिरो र लेदो खसेर सडक अवरुद्ध बनेको हो ।
स्थानीय बासिन्दाका अनुसार केही स्थानमा पहिरो पन्छाउने प्रयास भइरहेको भए पनि लगातारको वर्षाले कार्य कठिन बनेको छ । माथिल्लो भागबाट पुनः पहिरो खस्ने जोखिमका कारण मर्मत कार्य अस्थायी रूपमा रोकिएको बताइएको छ ।
राजमार्ग सुचारु गर्न अझ केही समय लाग्ने अनुमान गरिएको छ । सडकमा यात्रा गर्नुपर्ने यात्रुहरूलाई सम्बन्धित निकायले सावधानी अपनाउन र यात्रा अघि सडक अवस्थाबारे जानकारी लिन आग्रह गरेको छ ।







