चितवन । चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा दुईवटा यात्रुबाहक बस र एउटा ट्रक आपसमा ठोक्किँदा ३३ जना घाइते भएका छन् । घाइतेमध्ये ८ जनाको अवस्था मध्यम खालको रहेको प्रहरीले जनाएको छ ।
घटनाअनुसार गएराति करिब पौने २ बजे इँट्टा लोड गरेर सडक छेउमा पार्किङ गरिराखिएको ना ६ ख ८१३ नम्बरको ट्रकमा गौरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख ०१२३ नम्बरको डल्फिन यात्रुबाहक बस ठोक्किएको थियो । त्यसपछि सोही बसमा जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख ३९०२ नम्बरको रुद्राक्ष यात्रुबाहक बस पनि ठोक्किँदा ठूलो दुर्घटना भएको हो ।
ठोक्किएर बस सडकमा पल्टिएको थियो । दुर्घटनापछि सशस्त्र प्रहरी बल, नेपाल नं.१७ गण आँपटारी चितवनबाट खटिएको टोलीले तत्काल उद्धार कार्य सुरु गरी घाइतेहरुलाई उपचारका लागि विभिन्न अस्पताल पठाएको थियो ।
घाइतेहरुमध्ये १५ जना चितवन मेडिकल कलेजमा, १३ जना नेशनल सिटी अस्पतालमा र ५ जना भरतपुर अस्पतालमा उपचाररत छन् ।
क्रेनको सहायताले पल्टिएको बस हटाइएपछि बिहान करिब ३ बजेतिर सडक एकतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
यस दुर्घटनासँग सम्बन्धित बा.प्र.०३–००१ ख ३९०२ नम्बरको रुद्राक्ष बसका चालक धनुषा जिल्ला शहीद नगरपालिका–४ का ४३ वर्षीय कृष्ण मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।






