काठमाडौँ — विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय श्रृंखलामा नेपाल यूएईसँग पाँच विकेटले पराजित भएको छ।
नेपालले दिएको २३४ रनको लक्ष्य यूएईले ४३ ओभर तीन बलमा पाँच विकेटको क्षतिमा भेटायो। यूएईका आर्यन शर्माले ९८ रन र विलासी शर्फूले ४५ रनको योगदान दिए। नेपालका सन्दीप लामिछानेले दुई विकेट, जबकि करण केसी र दीपेन्द्रसिंह ऐरीले समान एक–एक विकेट लिए।
यसअघि यूएईमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ५० ओभरमा २३३ रनमा अलआउट भएको थियो। कप्तान रोहितकुमार पौडेलले शानदार १०९ रनको शतक प्रहार गरे। त्यस्तै आसिफ शेखले ३५, आरिफ शेखले २७, र दीपेन्द्रसिंह ऐरीले २३ रन बनाए।
बलिङतर्फ यूएईका जाहिद अलीले चार विकेट, जुनैद सिद्दिकीले तीन, र मोहम्मद रोहिद तथा हैदर अलीले समान एक–एक विकेट लिए।
यो नतिजासँगै नेपाल लिग–२ को तालिकामा १८ खेलमा १२ अङ्कसहित सातौँ स्थानमा छ भने यूएई १८ खेलमा आठ अङ्कसहित पुछारमा रहेको छ। नेपाल यसअघि श्रृंखलाको पहिलो खेलमा अमेरिकासँग पराजित भएको थियो।
लिग–२ को अङ्कतालिकामा अमेरिका २२ खेलमा ३२ अङ्कसहित शीर्ष स्थानमा, स्कटल्याण्ड २४ खेलमा ३० अङ्कसहित दोस्रो, र नेदरल्यान्डस् समान खेलमा २८ अङ्कसहित तेस्रो स्थानमा छन्। नेपालले अब आफ्नो अर्को खेल शनिवार अमेरिकासँग र अन्तिम खेल बुधवार यूएईसँग खेल्नेछ।






