बैतडी — भिरबाट लडेर बैतडीमा तीन जनाको ज्यान गएको छ। मृत्यु हुनेमा मेलौली नगरपालिका–७ पचकोराका ५५ वर्षीय भीमसिंह रावत, शिवनाथ गाउँपालिका–५ बारुलोजनीका ६१ वर्षीय इन्द्रसिंह साउद र डिलासैनी गाउँपालिका–७ ढाँणकी ५८ वर्षीया हरुली कार्की रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार हिजो शिवनाथ धाममा जात्रा हेर्न गएका भीमसिंह घर नफर्केपछि खोजी गर्दा आज उनको शव भेटिएको हो। त्यस्तै, इन्द्रसिंह साउदको पनि शिवनाथ जात्राबाट फर्किने क्रममा भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यसैगरी, घाँस काट्न हिजो बिहान घरबाट निस्किएकी हरुली कार्कीको शव आज खोजीका क्रममा भिरमा फेला परेको प्रहरी कार्यालयले जनाएको छ।
तीन वटै घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ।







