काभ्रेपलाञ्चोक — विद्युतीय कारोबार (साइबर क्राइम) मुद्दाका अभियुक्त खगेन्द्र सुनारलाई ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिइएको छ।
बुधबार जिल्ला अदालत काभ्रेपलाञ्चोकमा हाजिर भएका सुनारको बयान र थुनछेक बहसपछि न्यायाधीश नगेन्द्र कालाखेतीको इजलासले धरौटीमा रिहा गर्ने आदेश दिएको हो।
अधिवक्ता मनीषा गौतमले दायर गरेको जाहेरीका आधारमा सुनारमाथि विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा दर्ता भएको थियो। गौतमले सुनारले आफूलाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोप लगाएकी थिइन्। उनले त्यसको स्क्रिनसट प्रमाणसहित काभ्रेमा मुद्दा दायर गरेकी थिइन्।
सुनार फरार प्रतिवादीको सूचीमा रहेकाले मन्त्रीमा सिफारिस भएपछि उनको नाम सार्वजनिक भएको र त्यसपछि पक्राउ पुर्जी जारी गरिएको थियो। काभ्रे अदालतले यसअघि ५ साउनमा दैलेख प्रहरीलाई पक्राउ अनुमति सहित पुर्जी काटेको थियो।
सुनारको तर्फबाट वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, अधिवक्ता महेन्द्र तामाङ, चक्रमान विश्वकर्मा, वाल्मीकि आउजी, नारायण बुढापृथ्वी, गणेश बराइली र रामबहादुर मिजारले बहस गरेका थिए भने वादीको तर्फबाट सहन्यायाधिवक्ता निष्ठा कर्माचार्यले बहस गरेकी थिइन्।






